धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाबी गरेको बिमाको रकम अविलम्ब स्वास्थ्य बिमा बोर्डले भुक्तानी नगरे स्वास्थ्य बिमा गरेकाहरूलाई असार २० गते देखि अर्को सूचना जारी नहुन्जेल सम्मलाई बिमाबाट दिइने सेवा प्रतिष्ठानले स्थगन गर्ने भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार साँझ एक सूचना जारी गरी सो कुराको जानकारी दिइएको हो । प्रतिष्ठानले २०७४ साल साउनदेखि स्वास्थ्य बिमा मार्फत सेवा दिइरहेको जनाउँदै प्रतिष्ठानले दाबी गरे अनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन र साथै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक-पटक लिखित एवं बिमा बोर्डमा गई अनुरोध गरेको सूचनामा उल्लेख छ ।

२०७९ ज्येष्ठ २० गते नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट आएका प्रतिनिधिहरू लगायत स्वास्थ्य बिमा बोर्डका पदाधिकारी एवं सम्बद्ध अन्य अधिकारीहरुसंग प्रतिष्ठानमै गरिएको प्रत्यक्ष छलफल एवं अन्तरक्रिया गरी जानकारी गराइएको भएता पनि हालसम्म समस्याहरूको समाधान हुन नसक्दा प्रतिष्ठान आर्थिक सङ्कटबाट गुज्रिरहेको ब्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध सूचनामा उल्लेख छ ।

स्वास्थ्य बिमा बोर्डबाट प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै दाबी प्रक्रियालाई सहजीकरण नगरी प्रतिष्ठानले गरेको दाबीहरूलाई एकतर्फीरूपमा विविध शर्त बन्देजहरू लगाई दाबीहरूलाई कम भ्यालुएसन गर्ने तथा बेवास्ता गर्ने कार्य गरिएको सूचनामा बताइएको छ । यसरी प्रतिष्ठानले प्रदान गरेको स्वास्थ्य उपचार सेवा बापतको खर्चलाई एकतर्फी रूपमा रद्द गरी स्वास्थ्य बिमा बोर्डले देखाएको यस किसिमको अन्याय प्रति प्रतिष्ठानले खेद समेत प्रकट गरेको छ ।

प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवं स्वशासित संस्था भएकोले यसको दैनिक प्रशासनिक सञ्चालनका लागि आवश्यक पारिश्रमिक, तलब, भत्ता लगायत अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक खर्च व्ययभार आफैले व्यवस्थापन गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले दैनिक रूपमा प्रतिष्ठानमा उपचारका लागि आउने हजारौँको सङ्ख्याका बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा पुर्‍याए बापत प्राप्त गर्नुपर्ने नियमित आम्दानीको लगभग ७० प्रतिशत हिस्सा रकम समयमा नै प्राप्त हुन नसक्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्सिङ तथा अन्य कर्मचारीहरूको नियमित तलब भत्ता लगायतका दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको बताइएको छ ।

स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दाबी रकमको भुक्तानी अविलम्ब गर्नुका साथै उठान गरिएका समस्याहरू समाधान यथाशीघ्र नगरिए बीमितहरुलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गत दिइने सम्पूर्ण सेवाहरू अर्को सूचना नहुन्जेलसम्मको लागि मिति २०७९।०३।२० गतेदेखि स्थगन गरिने सूचना जारी गरिएको छ । यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति प्रतिष्ठान क्षमाप्रार्थी छ भनिएको छ । 

BP-Suchana