धरान : निरन्तरको वर्षाको कारण सप्तकोशी नदीको बहाव बढेको छ । 

कोसी ब्यारेज कन्ट्रोल रुमले आज दिउसो २ बजे मापन गरे अनुसार अहिले सप्तकोशी नदीको बहाव १ लाख २३ हजार ४ सय ५५ क्युसेक प्रतिसेकेन्ड रहेको छ । 

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार बिहान तटीय क्षेत्रको निरीक्षण भएको र सप्तकोसीको पूर्वी क्षेत्रको बाधहरूमा नदीले कटान गर्न सक्ने भएकोले यदि त्यस्तो अवस्था आएमा तत्काल प्रहरीलाई खबर गर्न स्थानिय र सो क्षेत्रमा खटिएका प्रहरीलाई निर्देशन दिइएको छ ।

पानीको बहाव बढेसँगै प्रशासनले नदीमा काठे डुङ्गा चलाउन  रोक लगाएको छ  । यस भन्दा अघि एक जना नदीमा बेपत्ता भए देखि डुङ्गा चलाउन रोक लगाइएको प्रमुख एसपी थापाले बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढ्न थाले पछि अहिले १९ वटा ढोका खोलिएका छन् । पानी निरन्तर परेर नदीको बहाव बढे पनि नदीको स्पर र नोजहरु सुरक्षित रहेको एसपी थापाले बताए ।