दमक : अविरल वर्षाका कारण रतुवा, मावा, दिपिनी लगायतका खोलामा आएको बाढीले दमकको धेरै भाग जलमग्न भएको छ । खोला तथा खोल्सीमा पानीको सतह बढ्दा दमकका १० वटै वडामा डुबानको समस्या बढेको छ। पानीका कारण भएको क्षतिको सङ्घीय सांसद महेन्द्रा कुमारी लिम्बु र दमक नगर उपप्रमुख रेगिना भट्टराईले अनुगमन गरेका छन् । 

रतुवा खोलामा आएको बढिले दमक वडा नम्बर १, ७, ८ र १० का केही भागमा कटान गरेको छ । रतुवा खोलामा आएको बाढीले दमक-७ स्थित उद्योग वाणिज्य सङ्घको कार्यालय पूर्वपट्टि कटान गर्दा खोलो बस्तीमा पस्ने जोखिम बढेको दमक उपप्रमुख भट्टराईले जानकारी दिइन । 
रतुवाको कटान रोक्न सशस्त्र प्रहरीको टोली परिचालन गरेर बोरामा बालुवा हाली तत्काललाई रोकथामको गरिएको नगर उपप्रमुख भट्टराईले बताइन । अहिले पनि निरन्तर वर्षा भइरहेकाले कटान नियन्त्रणमा समस्या भएको भन्दै हाललाई रोकथाम मात्रै गर्न सकिने उनको भनाइ छ । 
रतुवा खोलाले कटान गर्दा वडा नम्बर २ को पूर्व पट्टिको क्षेत्र जोखिममा परेको छ । कटानका कारण सहिद बन बाटिका पूर्व पट्टि रहेको झोलुङ्गे पुल नजिकैको खोलाधार क्षेत्रमा जोखिम देखिएको नगर उप प्रमुख भट्टराईले जानकारी दिइन । अहिले पनि वर्षा भइरहेकोले जोखिम बढ्न सक्ने बताउँदै उनले नागरिकको जिउ धन जोगाउनु नगरपालिकाको दायित्व रहेको भन्दै उहाँले बस्ती नै जोखिमका परे सबै संयन्त्र परिचालन गरिने जानकारी दिइन ।