धरान : धरानलाई आधार बनाई पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचार गर्ने मुख्य उद्देश्य बोकेर सुरु भएको यात्रा धरान ग्रुप अफ कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । 

धरानमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी  पूर्वी नेपालको ऐतिहासिक बहुधार्मिक बहुसास्कृतिक, बहुजाति पुरातात्त्विक सम्पदाहरूले भरिएको सुन्दर नगरी धरानलाई आधार बनाई पर्यटन क्षेत्रको प्रर्वदन र प्रचार प्रसार गर्ने उद्देश्य राखी घराने युवाहरू अमित मोक्तान, आधि लामा र राजेश पाख्रिन सहित ३ जनाको समूह मिलेर २०६८ सालमा यात्रा धरान नामक फेसबुक पेज र फेसबुक आइडी बनाई सोही फेसबुक पेज मार्फत पूर्वी नेपालको विभिन्न क्षेत्रहरूमा पर्यटकीय सम्भावना बोकेको प्राकृतिक सौन्दर्यलाई क्यामरामा कैद गरी फेसबुक पेज र फेसबुक आइडी मार्फत प्रचार प्रसार गरी प्रचारात्मक अभियानको थालनी गरिएको थियो ।

२०६८ सालदेखि सामाजिक सञ्जाल फेसबुक पेजबाट फेसबुक ग्रुप हुँदै सङ्गठित रूपमा यात्रा धरान ग्रुप मार्फत विभिन्न सामाजिक अभियानसँग आफ्नो गतिविधि निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको जनाउँदै स्वदेश तथा विदेशमा रहेका ७० जना युवाहरू आबद्ध भई यात्रा धरान ग्रुप अफ कम्पनी नामक संस्था २०७७ मा दर्ता गरी चैत्र ७ गते देखी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसै ग्रुप मार्फत हाल रियल स्टेटसँग सम्बन्धित सबै कारोबारहरू सञ्चालनमा ल्याएको पनि जानकारी दिइएको छ । रियल स्टेट कारोबारका लागि शून्य प्रतिशत कमिसनमा जग्गा खरिद विक्री हुने, दर्ता गर्न १ एक हजार मात्र लाग्ने,जग्गा बिक्री भएपछि १५ हजार मात्र शुल्क लाग्ने जनाइएको छ । 

रियल स्टेट तथा हाउजीङ क्षेत्र सम्बन्धी लगानी गरी सम्पूर्ण कार्यहरू गर्ने, गराउने साथै घर जग्गा खरिद तथा अन्य कम्पनीको शेयर तथा डिवेञ्चरमा लगानी गर्ने गराउने, विद्युतीय माध्यमद्वारा पर्यटकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न वायु सेवा सँग सहकार्य गरी हवाई टिकट विक्री गर्ने, गराउने तथा ट्रेकिङ व्यवसाय लगायत पर्यटन उद्योगसँग सम्बन्धित मनोरञ्जनात्मक तथा साहसिक क्रियाकलापहरू सञ्चालन गर्ने, शिक्षालाई प्रवर्द्धन गर्दै पुस्तकालय निर्माण, सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने साथै शैक्षिक परामर्श समेत सञ्चालन गर्ने, गराउने बताइएको छ ।

यसै गरी औषधी तथा मेडिकल सम्बन्धी विभिन्न सामाग्री, संयन्त्र मेसिनहरू थोक तथा खुद्रा बिक्रि वितरण गर्ने तथा विभिन्न प्रकारका सफ्टवेयर, एप तथा अनलाइन मार्फत व्यवसाय सञ्चालन गर्ने, अनलाइन न्युज पोर्टल, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी गर्ने, रेमिटेन्स सेवा प्रदायक मुद्रा सटही (मनि एक्सचेन्ज) सम्बन्धी कार्यहरू सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोर, ग्रोसरी स्टोर खुद्रा व्यापार व्यवसाय समुन्द्रपार आयत निर्यात सम्बन्धी पनि काम गर्ने गराउने बताइएको छ । होटल, रेस्टुरेन्ट, लज र बार सम्बन्धी व्यवसाय सञ्चालन गर्ने गराउने र चिल्ड्रेन पार्क, मनोरञ्जन पार्क, पिकनिक स्थल सम्बन्धी व्यवसाय नगर्ने गराउने पनि ग्रुपको योजना रहेको पत्रकार सम्मेलनमा यात्रा धरान ग्रुप अफ कम्पनी प्रा.ली. का अध्यक्ष आधि लामाले जानकारी दिए । 

यात्रा धरान ग्रुप अफ कम्पनी प्रा.ली. को उद्घाटन असार १२ गते शुक्रवार धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम बेघा द्वारा गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ग्रुपमा हाल देश भरीबाट ७१ सदस्यीय सञ्चालक समिति रहेको र १०१ जना सम्म सञ्चालक समिति बन्न सक्ने पनि पत्रकार सम्मेलनमा ग्रुपका संस्थापक सदस्य अमित लामाले जानकारी दिए ।