धरान : निरन्तरको बर्षाको कारण सुनसरीको भोक्राहानरसिंह ५ मा सुनसरी खोलाको बाढीले डुवान गर्दा ७० घर धुरी विस्थापित भएका छन् । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले दिएको जानकारी अनुसार भोक्राहानरसिंह-५ टपरा टोलका ७० घर धुरी डुवानमा परेका हुन् । ७० घर परिवारका डुवान पिडितहरुलाई नजिकैको उच्च स्थानमा टेन्ट टागेर राखिएको छ । उनीहरुलाई वडा कार्यालयले त्रिपाल, र केही टेन्ट र केही खाद्यन्न वितरण गरिएको छ । 

यसैगरी सुनसरीको बर्जु गाउँपालिका-६ र ५ मा पनि डुवान भएको छ । सुनसरीको कोशी गाउँपालिकाको वडानं. २ उराउ टोलमा पनि डुवान भएको छ । इटहरी उपमहानगरपालिकाको वडानं. ८,७ र २ मा पनि डुवान भएको छ । 

यसैगरी दुहबी नगरपालिकामा पनि डुवान भएको छ । दुहबी कन्चनबारी जोडने कृषि सडक तीन ठाउमा काटेर पानी तर्काईएको छ । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाका-८ नम्वर वडामा पनि सुनसरी खोलाको बाढीबाट डुवान भएको छ । २५ घर डुवान भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले  जानकारी दिएका छन् । भोक्राहनरसिंह बाहेक अरु ठाउमा विस्थापित हुनेगरी डुवान नभएको बताईएको छ । 

यसैगरी सुनसरीको बराहक्षेत्र-१ स्थित बम्हानन्द खोलामा चतरा–बराहक्षेत्र भित्रि सडक खण्डमा माथिबाट झरेको पहिरोले पुरिएर सडक अवरुद्ध भएको छ । पहिरोले १० मिटर सडक पुरेको छ । 

सप्तकोशीमा पानीको बहाव बढदै :

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढीरहेको छ । 

आज विहान ८ बजे कोशी व्यारेज कन्ट्रोल रुमले मापन गरे अनुसार १ लाख ४१ हजार ४ सय २५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ भने २१ वटा ढोका खुल्ला गरिएको छ ।