चतरा : वराहक्षेत्रमा अविरल वर्षबाट डुबानमा परेका प्रभावित परिवारलाई भेट्न नगर प्रमुख रमेश कार्की टोल– टोलमा पुगेर प्रभावितहरूको अवस्था बुझेका छन् ।

डुबानका कारण समस्या परेका परिवारको समस्या बुझ्न र समाधान गर्न नगर प्रमुख रमेश कार्की प्रभावित क्षेत्रमा पुगेका हुन् ।

चतरामा खोला , बजार र बस्ती अवलोकन गरेका नगर प्रमुख कार्कीले वराहक्षेत्र – ४ का बाढी प्रभावित बस्तीमा पुगेर गुनासो सुनेका छन् ।  गुनासो सुनेका नगर प्रमुख कार्कीले बाढी पीडितको समस्या हल र दीर्घकालीन रूपमा समस्या समाधानको लागि प्रयत्न गर्ने बताए ।

केहिदिन देखि परेको अविरल वर्षाका कारण वराहक्षेत्र नगरपालिका बजार , टोलहरू जलमग्न भएका छन् । सर्दु , सुनसरी , गहने , नेप्टे, बाहुनी लगायत खोलाको पानी बस्तीमा पसेको छ । पानीको निकास नहुँदा टोल नै जलमग्न  बनेको छ । खोलाको किनारमा भएका बस्तीहरू जोखिममा रहेका छन् । बाढीबाट दर्जन भन्दा बढी बस्तीहरू प्रभावित बनेका छन् । घर भित्रनै पानी पसे पछि सर्वसाधारणको दैनिकीमा समस्या समेत हुन थालेको छ । 

वराहक्षेत्र नगरपालिकाका ११ वटै वडा वर्षाले प्रभावित बनेका छन् । कोसी नदिको त्राससंगै पहिरो , खोला कटान र डुबानको समस्या बढेको छ । बाढी र डुबानका कारणले क्षति गर्न थालेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ३,४ र ५ नम्बर वडामा सर्दु र सुनसरी खोलाका कारण बजार टोल नै जलमग्न भएका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं १ बासीलाई पहिरो समस्याले सताउन थालेको छ । वडा नं २ मा नेप्टे , पटनाली , गहने खोलाको त्रास छ । वराहक्षेत्र नगरपालिका वडा नं ६,७ र ८ मा डुबानको समस्या रहेको छ । क्याम्पा , बिचपानी देखिको पानी सोमवारे हुँदै चक्रघट्टि बजारलाई जलमग्न बनाएको छ । शुक्रवारे लगाएका बस्तीमा पनि डुबानको समस्या रहेको छ । वराहक्षेत्र ९,१० र ११ नम्बर वडालाई कोसीको त्रासले सताएको छ । वाहुनी लगाएको खोलाका कारण स्थानीयलाई समस्या पर्न थालेको छ । प्रकाशपुर , मधुबन बजारमा समेत डुबानको समस्या रहेको छ ।

निरन्तर वर्षा भइरहेकोले  जोखिम बढ्न सक्ने भएकोले नागरिकको जिउ धन जोगाउनु नगरपालिकाको दायित्व रहेको भन्दै नगर प्रमुख कार्की सबै संयन्त्र लगाएर नगरपालिका काम गर्ने बताउँछन् ।