धरान : शैक्षिक विकृतिको अन्त्यको माग गर्दै अभिभावक सङ्घ नेपाल धरान उपमहानगर समितिले बिहीबार धरानका मेयर हर्क साम्पाङलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

समितिले विगत कोरोना महामारीको समय देखी विभिन्न समयमा शैक्षिक क्षेत्रका समस्या, विकृति र विसङ्गतिहरूका विषयमा पटक पटक अभिभावकहरूले आवाज उठाई स्थानिय सरकार समक्ष अभिभावकको अभिभावकत्व लिइदिन आग्रह गर्दै आएको थियो । पछिल्लो समय शिक्षामा व्यापारीकरण हुँदै गइरहेको र शिक्षा क्षेत्रको विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने माग गर्दै निरन्तर आन्दोलन आइरहेको अभिभावक सङ्घ नेपाल धरान उपमहानगर समितिले बिहीबार मेयरको कार्यकक्षमै पुगेर विभिन्न माग सहित १४ बुँदे ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा स्थानिय सरकारद्वारा जारी 'शिक्षा ऐन २०७८ संशोधन गरी अभिभावकको अधिकार सुनिश्चित गरिनुपर्ने, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउन र सामुदायिक विद्यालय मै अध्ययनका लागी प्रोत्साहित गर्न धरान भरीका सम्पूर्ण सामुदायिक विद्यालयमा “अङ्ग्रेजी माध्यम” अनिवार्य र निःशुल्क गरिनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक सामाग्रीमा एकरूपता कायम हुनुपर्ने, धरान उपमहानगरका कर्मचारीहरूको संस्थागत विद्यालयहरूमा लगानीका कारण स्वार्थ बाझिएको र स्थानिय सरकारको भूमिकामा प्रभाव परेको महसुस भएकाले स्थानिय सरकारका कर्मचारीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न नपाउने व्यवस्था हुनुपर्ने, सामुदायिक विद्यालयहरूको स्तरोन्नतिका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने माग गरिएको छ । 

यसैगरी सामुदायिक र संस्थागत विद्यालयमा नगर स्तरीय “नैतिक शिक्षा पाठ्यक्रममा सामेल गराइनुपर्ने,  शिक्षा नियमावली तत्काल जारी हुनुपर्ने, स्थानिय सरकारको निर्देशन अटेर गरी प्रत्येक वर्ष अनियन्त्रित शुल्कवृद्धी गर्ने संस्थागत विद्यालयहरूलाई कानुनी कारबाही गरी शुल्क वृद्धि नियन्त्रण हुनुपर्ने, संस्थागत विद्यालयको शुल्क स्थानिय सरकारबाट तोकिनुपर्ने, संस्थागत विद्यालयहरूको नियन्त्रण, नियमन प्रभावकारी बनाउनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयको पोसाक, जुत्ता, मोजा, ब्यागमा एकरूपता कायम गर्नुपर्ने, सामुदायिक र संस्थागत विद्यालयहरूमा सर सफाइ, सफा र विद्यार्थी अनुपातको शौचालय, मापदण्ड अनुसारको शुद्ध पिउने पानी कायम गराइनुपर्ने र नियमित निरीक्षण हुनुपर्ने, धरान उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा र अभिभावक सङ्घको रोहवरमा शिक्षा ऐन र नियमावली अनुसार प्रत्येक विद्यालयमा अभिभावक सङ्घ गठन हुनुपर्ने र सामुदायिक र संस्थागत विद्यालयका शिक्षक÷ शिक्षिकाहरूलाई संविधान, ऐन र कानुनले निर्दिष्ट गरेको बाल बालिकासँग गरिनु पर्ने व्यवहार, बाल बालिकाको अधिकार लगायत विषयमा स्थानिय सरकारबाट तालिम दिने व्यवस्था गरिनुपर्ने माग गरिएको छ । 

अभिभावक सङ्घ नेपाल धरान उपमहानगर समितिका सचिव विनोद तिमिल्सीनाले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मेयर साम्पाङले समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख भएको मागहरू प्रति आफू गम्भीर भएको र यो समस्या बुझेको बताउँदै आगामी कार्यपालिका बैठकमा एजेण्डाकोरुपमा पेस गर्ने बताए । मेयर साम्पाङले शिक्षा क्षेत्रमा भएको विकृति र विसङ्गतिको विरुद्धमा नियम र कानुनले जे भन्छ त्यही अनुसार काम गर्ने प्रतिबद्धता जनाएको अभिभावक सङ्घ नेपाल धरान उपमहानगर समितिका सचिव विनोद तिमिल्सीनाले बताए । 

Gyapan-Patra-1Gyapan-Patra-2