धरान : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । 

बिहीबार सुनसरीको चतरामा आयोजित विपद्का समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षापछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् । 

मन्त्री कार्कीले विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधन सहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे । 'पहिले पहिले पनि बाढी आउँथ्यो, आगलागी हुन्थ्यो तर समाजकै जनशक्ति कसैले त्यो नियन्त्रण हुने हुन्थ्यो । उनले भने, अहिले कहीँ विपद् पर्‍यो भने, मान्छे मोबाइल निकाल्छ फोटो खिच्छ, फेसबुकमा हाल्छ अनि सुरक्षाकर्मी, नेता खोइ ? भन्दै प्रश्न गर्न थाल्छ ।'

समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपतलाई रोक्नका लागि विपत् हुनुभन्दा अगाडि हुने विकाश निर्माणका काम गर्दा समेत भू बनोट अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

देख्दा यथार्थ जस्तै लाग्ने अभ्यास मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपद्का बेला हुने घटनालाई अभ्यास मार्फत चित्रण गर्दै उद्धारको काम गरेका थिए । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित तिन वटै सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Bipad-Abheyas-1