विराटनगर : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की सहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदी खोलाको निरीक्षण गरेका छन् ।

मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र चिसाङ खोलाले गरिरहेको कटान हेर्न सरकारी अधिकारी सहितको टोली स्थलगत निरक्षमा पुगेको हो । मन्त्री कार्कीले भने “कहाँ कसरी कटान भइरहेको भन्ने बर्खाकै बेला हेर्दा त्यसको नियन्त्रणमा योजना बनाउन सहज होस भनेर प्रत्यक्ष निरीक्षण गरेका हौँ,” । मन्त्री कार्कीले भने,“अब सोहीअनुरूप नदी खोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरू उपायबारे सरकारलाई जानकारी गराउने छौँ ।” 

बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला सहितको टोली उर्लाबारी, पथरी शनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरुसँग पनि कटान र यसको नियन्त्रणको उपायबारे छलफल गरेको थियो । 

मन्त्री कार्कीले भने,“बाढी तथा कटानबाट भएको क्षति र उत्पन्न समस्याको विषयमा पीडित तथा प्रभावित बासिन्दासँग छलफल गरिँदा त्यहाँको खास समस्या उजागर हुन्छ । के गर्दा कटान नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा हुन्छ । प्रदेश स्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट नहुने सङ्घीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने छ ।” कार्कीले प्रदेश सरकारले तत्काल राहत चाहिनेहरूलाई तत्कालै सहयोग गर्ने, कटान नियन्त्रणमा थालिहाल्नु पर्ने काम सुरु गर्ने र दीर्घकालीन रूपमा समस्या समाधान गर्न नयाँ खाका बनाउने बताए ।

मोरङका खोलाहरूमा आएको बाढीले ठुलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै यो पटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्ध सहितको कोरिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाइरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । मन्त्री कार्कीले भने,“प्रदेश सरकारले दुवै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रूपमा सीमावर्ती भारतीय क्षेत्रसम्म नै विकास गर्ने योजना बनाएको छ । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने छ ।”

Mantri-Nirikchhan-2