धरान : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पिण्डेश्वर क्याम्पस कमिटीले आयोजना गरेको जिल्ला स्तरीय अन्तर क्याम्पस वक्तृत्वकला प्रतियोगितामा इटहरी कस्तुरी कलेज प्रथम भएको छ । 

कार्यक्रममा कस्तुरी कलेजकी छात्रा सुम्निमा लिम्बूले प्रथम स्थान हासिल गरेकी छन् भने यु. एन कलेज धरानको छात्र दिपेन भण्डारीले द्वितीय स्थान प्राप्त गरेका थिए । त्यसैगरि कस्तुरी कलेज इटहरीकै छात्र सदिक्षा खड्का तृतीय  भइन् भने धरान मोडल कलेज, धरानकी छात्र समीक्षा राईले सान्त्वना स्थान प्राप्त गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट विद्यार्थीमा  केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), धरानकी छात्र वर्षा परियार भएकी थिइन् । उनलाई एक हजार नगद पुरस्कार दिइएको थियो भने सान्त्वना पुरस्कारमा पनि नगद एक हजार नै राखिएको थियो ।

त्यसैगरि  तृतीय स्थानका लागि नगद पुरस्कार  दुई हजार, द्वितीय स्थानका लागि नगद पुरस्कार तीन हजार र प्रथम स्थान हुने विद्यार्थीलाई नगद पुरस्कार रु छ हजार प्रदान गरिएको थियो भने  अनेरास्ववियु पिण्डेश्वर क्याम्पस कमिटीले सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई प्रमाण पत्र प्रदान गरेको छ ।

अनेरास्ववियु पिण्डेश्वर क्याम्पस कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा ९ वटा विभिन्न क्याम्पस बाट १८ जना प्रतियोगी सहभागी भएका थिए । प्रतियोगितामा विद्यार्थीहरू बिच “राष्ट्र निर्माणका लागि युवाको भूमिका“  विषयक शीर्षकमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रदेश  नं १ का इन्चार्ज लोकेश निरौलाले रहेका थिए । त्यसैगरि  नेकपा एमाले धरान उपमहानगरपालिकाका अध्यक्ष हर्क एभेङ र पिण्डेश्वर विद्यापीठका  प्राचार्य (क्याम्पस प्रमुख) उप प्राध्यापक काशीनाथ पौडेल विशिष्ट अतिथि रहेका थिए ।  

यसैगरी कार्यक्रममा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ की सह– इन्चार्ज नेतृ अन्जु पाण्डे , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज जीवी गजल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज मोनालिसा श्रेष्ठ र सौरव सन्जेल, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नवराज खड्का लगायत जिल्ला कमिटीका पदाधिकारी , विभिन्न क्याम्पस कमिटीका पदाधिकारी , प्राध्यापक सङ्घ सङ्गठनका प्राध्यापकहरू, कर्मचारी सङ्घका प्रतिनिधिहरू र वडा सदस्यहरू समेतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु पिण्डेश्वर क्याम्पस कमिटीका अध्यक्ष अनुप ढुङ्गेलले गरेका थिए भने कार्यक्रम सञ्चालन क्याम्पस कमिटी सचिव ग्रीष्म गुरागाईँ र क्याम्पस कमिटी उपाध्यक्ष पवन अधिकारीले गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य अनेरास्ववियु क्याम्पस कमिटी उपाध्यक्ष सुधाकर पोख्रेलले दिएका थिए ।

Baktituwakala