धरान : धरानका मेयर हर्क साम्पाङले धरानमा अर्को अभियान 'से नो टु ड्रग्स' सुरु गरेका छन् । 

धरानमा पछिल्लो समय आपराधिक घटनाहरू लागुऔषध प्रयोगकर्ताहरूबाटै हुने गरेको भन्दै लागुऔषधको विरुद्धमा सबै धरानेहरु एक जुट भएर लाग्नुपर्ने र यसको नियन्त्रणको लागि धरानमा अव देखि हरेक साता 'से नो टु ड्रग्स' अभियानलाई पनि निरन्तरता दिने बताएका छन् । 

शुक्रवार धरानको भानुचौकमा मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा सहितको समूहले लागुऔषध विरुद्धको प्लेकार्ड बोकेर लागुऔषधको साङ्केतिक विरोध कार्यक्रममा मेयर साम्पाङले धरानको मुख्य समस्या खानेपानी भएकोले यसमा आफू निर्वाचित भए देखिनै लागि परेको र खानेपानीको स्रोतमा सुधार भएको बताए ।

त्यसै गरी उनले अर्को आफ्नो अभियान धरानलाई देशकै सफा सहरकोरुपमा परिचित गराउन सरसफाइ अभियान रहेको बताए । यस्तै अर्को अभियान बृक्षरोपण र अव धरानको अर्को समस्या लागुऔषध दुर्व्यसन रहेकोले हरेक साता एक दिन थोरै समय भए पनि लागुऔषध विरुद्धको अभियान गर्ने उनले बताए । 

जति जति आफूले अभियान चलाएको र त्यो अभियानमा सबैको साथ सहयोग भएकोले अव यो लागुऔषध अभियानमा पनि साथ सहयोगको अपेक्षा गर्दै मेयर साम्पाङले भने धरानमा जति पनि आपराधिक घटनाहरू घटेका छन् ती सबैको अनुसन्धान गर्दा जरासम्मै पुग्दा लागुऔषध भएकोले यसको नियन्त्रण र न्यूनीकरणमा अव सबै लाग्नुपर्ने बेला भएको बताए । 

उनले धरानको गुड न्युज भन्दै उपमेयर आइन्द्र विक्रम बेघा र आफू सारै मिल्ने साथी भएको बताउँदै अव देखि हरेक शुक्रवार लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्ने बताए ।