धरान : धरानमा विभिन्न मितिमा हत्या भएकाहरूको हत्यारालाई कारबाहीको माग गर्दै धरानको भानुचौकमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा मेयर हर्क साम्पाङले समय नदिएकोमा पीडितका आफन्तले गुनासो गरेका छन् । 

भानुचौकमा शुक्रवार लागुऔषध विरुद्धको अभियानमा पुगेका मेयर हर्क साम्पाङलाई धर्नामा बसेका मृतकका आफन्तले धर्ना स्थलमा पुगेर आफ्नो समस्या सुनिदिन आग्रह गर्दा मेयर साम्पाङले आफू धर्ना स्थलमा जाँदा भिडभाड भएर सवारीसाधन आवतजावतमा समस्या हुने भन्दै धर्ना स्थलमा गएनन् ।

बरु पीडितहरू आफू भएको ठाउँमा निवेदन र समस्या लिएर आउन आग्रह मेयरले गरेका थिए । यसरी विभिन्न दबाब र राजनीतिक बलले हत्याराहरूले उन्मुक्ति पाएको भन्दै मृतकहरू प्रदीप ओख्राबो सुब्बा, विनोद इवाहाङ लिम्बु, झगेन्द्र बान्तवा राई र सन्दीप लम्जेलको हत्यामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै असार ११ गते देखि मृतकका परिवारहरू धरानको भानुचौकमा हरेक दिन ४ बजे देखि ५ बजे सम्म १ घण्टा धर्ना बस्दै आएका छन् । 

धरानमा पछिल्लो समय हत्याका घटनाहरू बढिरहेको र हत्याराले उन्मुक्ति पाइरहेकोले गर्दा हत्याराहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्दै आफूहरू दैनिक धर्नामा बसेको विष्णु थाम्देन लिम्बुले बताए । 

आफूहरूको धर्ना धरानको विकृति र विसङ्गतिको विरुद्ध र हत्या गर्दै विभिन्न बहानामा उन्मुक्ति पाउनेहरूलाई कारबाहीको दायरामा ल्याउने मुख्य उद्देश्य रहेको राजेश खिम्दुङले बताए । धरानको समस्यालाई लिएर भइरहेको यो धर्ना कार्यक्रममा मेयर हर्क साम्पाङ धर्ना स्थल नजिकै पुगेर पनि समस्या सुनाउन खोज्दा नसुनी हिँडेकोमा दुख लागेको धर्नामा बसेकाहरूले बताए ।

धर्ना स्थलमा हाम्रो समस्या सुनेनन् मेयरले अव हामी उहाँकै कार्यकक्षमा जान्छौ, धर्नामा बसेका खिम्दुङले बताए । यसरी मेयर धर्ना स्थलमा आउन आग्रह गर्दा पनि नआउनुलाई खिम्दुङले मेयरको व्यस्तताले हाम्रो धर्ना स्थलमा नआएका होलान् भन्दै खिम्दुङले भने– हामी अव उहाँको कार्यकक्षमै गएर ध्यानाकर्षण गछौं ।