धरान : धरानबाट सङ्घीय प्रतिनिधिसभा सांसद मिना सुब्बाले आफ्नै खर्चमा पिण्डेश्वर मदिर परिसरमा निर्माण गरिदिएकी स्नान घर सहितको शौचालय मन्दिरलाई हस्तान्तरण गरिएको छ । शौचालय मन्दिरका पुजारी, सहयोगीहरूको सुविधाका लागि निर्माण गरिएको हो ।  

स्नान घर सहितको नवनिर्मित भवनमा दुई वटा शौचालय, एक स्नान घर र एक पिसाब कोठा रहेको छ । सांसद सुब्बाले संयुक्त भवनका कोठाहरूको ताला–चाबी मन्दिरका पुजारी गोकुल पोखरेललाई हस्तान्तरण गर्दै शौचालयको जिम्मा मन्दिर परिवारलाई दिएकी हुन् ।

उक्त अवसरमा सांसद सुब्बाले मन्दिरका पुजारी परिवारलाई शौचालयको कठिनाइ भएको कुरा नेपाली काँग्रेस वडा १४ बुथ अध्यक्ष श्याम श्रेष्ठ मार्फत आएपछि परिवार सहित आफ्नै निजी खर्चमा शौचालय निर्माण गरिदिएको बताइन् । उनले भनिन् ‘अब सुविधाको सदुपयोग रेखदेख, सरसफाइको जिम्मा मन्दिर परिवारबाट हुने विश्वास गरेकी छु ।’ 

शौचालयको संयुक्त भवन निर्माणमा ४ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । शौचालयको नक्सा डिजाइन धरान उपमहानगरपालिकाले गरिदिएको हो । यसमा सरकारी वा सांसद कोषको कुनै रकम लगानी भएको छैन । मन्दिर बाहिर सार्वजनिक शौचालय भएता पनि मदिर परिसरमा सुविधायुक्त शौचालय थिएन । 

त्यहाँ आश्रय लिएर बस्ने साधु सन्तहरूका लागि पुरानो शौचालय भए पनि जीर्ण अवस्थामा छ । मदिरमा दैनिक विदेशबाट समेत आउने बृद्धबृद्धा दर्शनार्थीहरुका लागि नयाँ बनेको शौचालयले सुविधा प्रदान गर्नेछ । हस्तान्तरणको अवसरमा समाजसेवीहरू, वडा-१४ का जनप्रतिनिधि, काँग्रेस कार्यकर्ताहरू उपस्थित थिए ।