धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले असार २० गते देखि स्वास्थ्य बीमाबाट दिइने सम्पूर्ण सेवा बन्द गर्ने भनेकोमा साउन ७ गते सम्म बीमाबाट दिइने सेवा सुचारु राख्ने जनाएको छ । 

स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई भुक्तानी नगरेको कारण अस्पताल सञ्चालनमै समस्या भएको भन्दै प्रतिष्ठानले असार १३ गते एक सूचना जारी गरी असार २० बाट स्वास्थ्य बीमाबाट दिइने सम्पूर्ण सेवा अर्को सूचना जारी नहुन्जेल सम्म बन्द गर्ने भनेको थियो ।  

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको पत्र सं. २०७८ ०७९ च.नं. १३८१ मिति २०७९।०३।१९ गते प्राप्त पत्रानुसार द्विपक्षीय एवं त्रिपक्षीय छलफलका साथै स्वास्थ्य बिमा बोर्डबाट गठित उच्चस्तरीय सुझाव समितिका संयोजक डा. भगवान् कोइराला सहितको टोलीले पेस गरेको सुझाव अनुसार सेवा प्रदान, दाबी प्रविष्ट र भुक्तानीमा देखिएका समस्याहरूलाई यथाशीघ्र सम्बोधन गर्ने भनिएपछि स्वास्थ्य बिमाबाट दिइने सम्पूर्ण सेवा साउन ७ गते सम्म सुचारु रहने आइतबार अर्को सूचना जारी गरी प्रतिष्ठानले जानकारी दिएको छ ।  

स्वास्थ्य बिमा सम्बन्धमा प्रतिष्ठानबाट प्रविष्ट भएका दाबीहरूलाई प्राथमिकताका साथ परीक्षण भइरहेको र दाबीको शोधभर्ना प्रक्रिया अगाडि बढिरहेको र प्रतिष्ठानबाट उठान भएका अन्य समस्याहरू समाधानको हकमा स्वास्थ्य बिमा बोर्डको बैठक र विज्ञ चिकित्सकहरूसँग विभिन्न चरणमा छलफल गरी समाधानका प्रक्रियाहरू अगाडि बढिसकेको जारी सूचनामा उल्लेख छ ।

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. जगत् नारायण प्रसादद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य बिमा सेवा सुचारु गर्न स्वास्थ्य बिमा बोर्डबाट अनुरोध भई आएको र धरान उपमहानगरका प्रमुख एवं मानव अधिकार आयोगका प्रतिनिधिबाट पनि स्वास्थ्य बिमा सेवा सुचारु गर्न अनुरोध भएकोले निरन्तर रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा कार्यक्रमलाई आगामी साउन ७ गतेसम्म सुचारु राख्ने र उक्त अवधिसम्म पनि प्रतिष्ठानबाट शोधभर्ना पाउनुपर्ने सम्पूर्ण रकमको भुक्तानी नभएमा साउन ८ गतेदेखि प्रतिष्ठानबाट उपलब्ध सम्पूर्ण स्वास्थ्य बिमाका सेवाहरू स्थगन गरिने जनाइएको छ । 

BP-Suchana