धरान : धरान उपमहानगरपालिकामा निकै समय सम्म कोरोना संक्रमणदर शून्य रहेकोमा पछिल्लो समय एक जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

निकै लामो समय सम्म कोरोना सङ्क्रमणले थलिएको धरानमा पछिल्लो समय एक जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुमा कोरोना सङ्क्रमण दर धरानमा फेरि पनि बढ्न सक्ने सङ्केत देखिएको छ । 

पछिल्लो समय धरान १५ की एक २८ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी बेलायतबाट आएको र आफूलाई असहज महसुस भएर स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । सङ्क्रमितको अवस्था सामान्य रहेको र उनी होम आइसोलेसनमा रहेको पनि बताइएको छ । 

पछिल्लो समय धरानमा मानिसको जमघट हुने थुप्रै कार्यक्रमहरू भइरहेको र सर्वसाधारणले अलिकति पनि सुरक्षा सतर्कता नअपनाई मास्क समेत लगाउन छाडेकोले धरानमा फेरि कोरोना सङ्क्रमण बढ्न सक्ने स्वास्थ्य विज्ञहरूले चिन्ता प्रकट गरेका छन् ।

पछिल्लो समय भारतमा संक्रमणदर दिनानुदिन बढ्दै गइरहेको बेलामा नेपालमा पनि कोभिड–१९ भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको ‘बीए.५’ भेटिएको पुष्टि हुनुले नेपालमा अव संक्रमणदर उच्च हुन सक्ने बताइएको छ । यसका लागि अव धरान उपमहानगरपालिकाले पनि परीक्षणको दायरा बढाएर सतर्कता बढाउने प्रमुख मेहेताले बताए । 

भिडभाडमा आफ्नो स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मास्क अनिवार्य लगाउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आम नगरवासीमा आव्हान गरेको छ ।