धरान : हङकङमा रहेका नेपाली युवाहरूले मेयर हर्क साम्पाङको सफा धरान अभियानलाई सफल बनाउन डस्बिन प्रदान गरेका छन्  । 

हङकङ नेप्लीज यूथको तर्फबाट आज मेयर साम्पाङलाई १५ वटा डस्विन प्रदान गरिएको हो । हङकङमा रहेका राज लिम्बुको सक्रियतामा रकम सङ्कलन गरेर डस्विन प्रदान गरिएको समन्वयकर्ता तथा सञ्चारकर्मी कमानसिंह याम्फुले बताए । मेयर साम्पाङको सफा धरान अभियानलाई सफल बनाउन हङकङमा रहेका धराने युवाहरूको समूह हङ्कङ नेप्लीज युथले डस्बीन सहयोग गरेको हो । 

मेयर साम्पाङले दाताहरूलाई धन्यवाद दिँदै धरान देशकै सफा नगरी बनाउने आफ्नो अभियान रहेको बताए । धरानमा कोही मान्छे बाहिरबाट आउँदा आहा कति सफा सहर रहेछ भन्ने बनाउन आफू लागि परेकोमा सबैको साथ सहयोगको अपेक्षा समेत रहेको बताए ।

उनले भने धरानमा अब जथाभाबी फोहोर गर्ने वा फाल्नेलाई जरिवाना गरिने गरी धरान उपमहानगरपालिकाले निर्णय गर्ने भएको छ । यसका लागि जनचेतनामूलक माइकिङ जिङगल बजाइँदै गरेको पनि मेयर साम्पाङले बताए । जथाभाबी फोहोर गर्ने वा फाल्ने विरुद्ध जरिवाना निर्धारण गर्ने एजेन्डा कार्यपालिका बैठकमा राखेर कार्यान्वयनमा लाने पनि मेयर साम्पाङले बताए । 

मुख्य गरी भानु चोक क्षेत्रमा राखिएको डस्बिनमा जथाभाबी फोहोर फालेको र डस्विन पनि बेवास्ता र लापर्वही  गरिएकोले यस्तो निर्णय गर्न लागेको बताए । वातावरण तथा सरसफाइ ऐन अन्तर्गत जरिवाना लगाउने र जरिवाना गर्न आफूहरूको रहर नभएको र जरिवाना नपर्न पनि उनले धरानवासीलाई आग्रह गरे । धरानलाई सफा राख्न कुनै पनि कसर बाँकी नराख्ने मेयर साम्पाङले बताए ।