सङ्खुवासभा : सङ्खुवासभाको मादीहत्या काण्डका ४ जना दोषीलाई जिल्ला अदालत सङ्खुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ । 

मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा ५ जना मध्ये चारजनालाई आजीवन कारावास फैसला सुनाएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावासको फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गदै उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदार प्रसाद गौतमले बताए । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको छ । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि ४ जना विरुद्ध आजीवन कारावास सजाय माग दाबी गर्दै आएको थियो ।

हत्या अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर कार्की परिवारकै नाताका व्यक्तिहरू हुन । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।