-रश्मि प्रधान

धरान : धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिका हलमा भएको एस.ई.ई.स्पिकरको फाइनलमा दोस्रो चरणमा सहभागी–१६ जना मध्ये उत्कृष्ट १० जना फाइनलमा छनौट भएका छन् ।   

र्‍याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.ई.ई.स्पिकर–२०७९,सिजन –२ को दोस्रो चरणको प्रतियोगिता मङ्गलवार सम्पन्न भएको छ । फाइनलमा प्रवेश गर्नेहरूमा आदर्श मा.बि.चतराकी प्रज्ञा न्यौपाने, हिमालयन बोर्डिङ चतराकी एङ्लिसा थापा, कोसी बोर्डिङ धरानका आवेग श्रेष्ठ, कोसी बोर्डिङ धरानकी एशिका कार्की, हिमालयन बोर्डिङ चतराकी रबिना तामाङ रहेका छन् ।

त्यस्तै अन्य फाइनलमा प्रवेश गर्नेहरूमा जन सहयोग मा.बि.तरहराकी एल्जिना खाति, भरौल बाल मन्दिर सेकेण्डरी स्कुलका दिमन गिरि, शिक्षा सन्देश बोर्डिङ पानमाराका रज्निस न्यौपाने, हिबिस्कस इङ्लिस बोर्डिङ धरानकी सिसम गुरुङ र विष्णु मेमोरियल बोर्डिङ धरानकी प्रतिष्ठा श्रेष्ठ रहेका छन् । प्रतियोगीहरूले दुई वटा शीर्षक “लागु औषध दुर्व्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका“ र “सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीमा पारेको असर“ मध्ये कुनै एउटामा बोलेका थिए ।

प्रतियोगीताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पसका उप– प्राध्यापक एवम् कोसी पत्र दैनिकका सम्पादक राजेश विद्रोही र युएन कलेजका अध्यापक विजय आछामि रहेका थिए । एसइई.दिएर बसेका विद्यार्थीलाई खाली समयको सदुपयोग गर्दै व्यक्तित्व र नेतृत्व क्षमताको विकास  गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरूलाई  क्रमशः २० हजार , १५ हजार, १० हजार  र ५ हजार नगद सहित प्लस टु अध्ययनका लागि शत प्रतिशत  र  ५०% छात्रवृत्ति प्रदान गरिने कार्कीले जानकारी दिए ।

कार्यक्रममा धरान उप–महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले  र १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईको उपस्थिति रहेको थियो । फाइनल आगामी असार–२७ गते सोमबार हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन कोरियोग्राफर तथा मोडल मेरिना तुम्साले गरेकी थिइन ।