धरान : उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । 

मङ्गलवार बेलुका साँढे ६ बजे  उदयपुरको चौदण्डीगढी–५ का २५ वर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कँदै गरेको अवस्थामा  अचानक पानी सँगै परेको चट्याङले लागेर घाइते भएका थिए । घाइते चौधरीलाई तत्काल इलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी उता सोलुखुम्बु थुलुङ दुधकोशी–९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । 

मङ्गलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा वर्षासँगै परेको चट्याङ लागी ७ वर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।