धरान : सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । 

शुक्रवार दिउसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाह संस्कार गरी फर्कँदै गरेको को २ त ३९६१ नम्बरको ट्र्याक्टर सडक साइडमा पल्टी दुर्घटना हुँदा ट्र्याक्टरमा सवार ४४ जना घाइते भएका थिए ।

दुर्घटनाबाट घाइते भएकाहरूलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर-१० का २४ वर्षीय गङ्गा बहादुर तामाङ र चैनपुर-९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो ।  यसै गरी अर्का घाइते चैनपुर नगरपालिका-१० का ६६ वर्षीय खड्गबहादुर भण्डारीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भएको सङ्खुवासभा प्रहरीले जनाएको छ । 

ट्र्याक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

ट्र्याक्टरमा बढी लोड भएर अगाडी इन्जिनको भाग उठ्दा ट्र्याक्टरको इन्जिनबाट डाला छुटेर गएपछि दुर्घटना भएको बताइएको छ ।

Sankhuwasabha-Durghatana-1

यसै गरी झापाको कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । 

शुक्रवार बिहान पौने ९ बजे मे १ त ७८३१ नम्बरको ट्याक्टरले रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार रहेकी कन्काई नगरपालिका-३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाइते भएका थिए ।

दुवै घाइतेलाई उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।