झापा : दमक नगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्न सरोकारवालाहरू सँग छलफल गरेको छ । बर्षातको समयमा हुने विपद्लाई सही ढङ्गले व्यवस्थापन गर्न नगर प्रमुख, उपप्रमुख सहितले सरोकारवाला निकायसँग छलफल गरेका हुन । 
दमक नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको छलफलमा उपप्रमुख रेगिना भट्टराईले विपद् व्यवस्थापनकालागी सबै निकायको समन्वय आवश्यक रहेको बताउँदै विपद् न्यूनीकरणका लागी दमकले गरिरहेको तयारीको बारेमा जानकारी गराएकी थिइन ।  
कार्यक्रममा नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डाका सेनानी जुद्ध निरौलाले विपद् व्यवस्थापनको लागी विपद् सुरु हुनु भन्दा पहिलै देखी योजना बनाउनु पर्ने बताए । नेपाली सेना जुनसुकै विपद्को व्यवस्थापनमा अग्रपंतिमा रहने भन्दै उनले यसका लागी समयमै तयारी सुरु गर्नु पर्ने बताए । 
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले खोला र पैनी मिचेर संरचना निर्माण गर्दा दमक पानीजन्य विपद्को उच्च जोखिममा रहेको बताए । उनले छिमेकी अन्य पालिकाहरू सँग पनि समन्वय गरेर जोखिम नियन्त्रणमा लाग्नु पर्ने बताए । त्यसैगरी दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले रतुवा र मावाको बिचमा रहेको दमक विपद्को उच्च जोखिममा रहेको भन्दै अन्य साना खोल्सा तथा पैनीहरूले पनि दमकमा विपद्को जोखिम बढाएको जानकारी दिइन । 
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ दमकका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईँ, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका तर्फबाट प्रेम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।