धरान : लायन्स क्लब अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिका स्थित पूर्वकै पर्यटकीय स्थलकोरुपमा  परिचित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफूल र विभिन्न प्रजातिको बिरुवाहरू रोपेको छ ।

आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षारोपण कार्यक्रमको आयोजना गरी बिरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिब आठ किलोमिटर दक्षिण वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ । आन्तरिक पर्यटकहरूमा आमाह सिमसार चर्चित बन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरूलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरिदिएको छ ।

पर्यटकीय स्थलको रूपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रमा परिवारसँग घुम्न आउँदा कुनै पनि जङ्गली पशुपक्षीहरू नदेखे पछि स्थानिय सँग जिज्ञासा राख्दा पशुपक्षीको आहार हुने वोट बिरुवा नभएको कारण पशुपक्षी नदेखिएको बताए पछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समूह सँग सहकार्य गरी जङ्गली पशुपक्षीको आहारा हुने खालको फलफूलको बिरुवा सहित वृक्षारोपण गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले बताइन । यसले बढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताइन । बृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङले बिरुवा रोपेर सुरु गरेका थिए ।

वृक्षारोपण कार्यमा अम्बक, अमला, तित्तिरि, सिरिस, सजिवन, किम्बु, बेल, अशोक, अर्जुन, रक्त चन्दन, पिपल, तेज पत्ता लगायत ३३ प्रजातिको बिरुवा रोपिएको आयोजक लायन्स क्लब अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले बताइन । क्लबले लायन्स क्लबको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण सँग सम्बन्धित सामाजिक कार्यहरू गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइन ।

क्लबले चाडै नै पैसाको अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिज फर एजुकेसन अभियान सुरु गर्ने बताइन । क्लबले यही बिहीबार धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि सात सय वटा फलफूलका बिरुवा रोपेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई , वराहक्षेत्र ५ नम्बर वडाध्यक्ष रोहित काफ्ले , अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , एमजेएफ लायन्स रेखा गुरुङ, युवा समाजसेवी सम्राट् श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Brikcha-ropan-2