धनकुटा : २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनकुटा प्रहरीले एक वडाध्यक्षलाई पक्राउ गरेको छ । 

प्रहरीले सहिदभूमि गाउँपालिका-५ का वडाध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई गएराति पक्राउ गरेको हो । पीडित महिलालाई आरोपित राईले शुक्रवार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध शनिवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले बताए। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा आज गरिएको छ ।

राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुर स्थित ताप्लेजुङ होटलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ । धनकुटाको हिले घुम्न जाऊँ भनी बोलाएर वसन्तपुर पुर्‍याई राति होटलमै बन्धक बनाइ राखी बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ। बलात्कारका आरोपित राई गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।