धरान : धरानका मेयर हर्क साम्पाङले धरानको सर्दु र खर्दुको मुहानमा पोखरी र मिनी हाइड्रो पावर बनाउने योजना अगाडी बढाएका छन् । 

धरान खानेपानी समस्याले सधैँ काकाकुल हुने भएकोले खानेपानी समस्या समाधान गर्न सुख्खा याममा पनि सर्दु र खर्दुमा पानी हुने भएकोले खानेपानी सँगै मिनी हाइड्रो पावर सञ्चालनमा ल्याउने गरी अध्ययन थालेर काम अघि बढाएको मेयर साम्पाङले बताएका छन् । उनले भने–“३२ इन्चको पाइपमा धरानमा पानी आउनुपर्छ, थोरैमा धरानमा ४ वटा स्विमिङ पुल हुनुपर्छ ।”

पछिल्लो समय धरान ११ र १७ को लागि खानेपानी समस्या समाधान गर्ने उद्देश्यका साथ धरान २० को पकुवा खोलामा अभियानमा सक्रिय रहेका मेयर हर्क साम्पाङले पकुवाको खानेपानी अभियान सकिए पछि धरानको सर्दु र खर्दु मुहानमा सुधारका लागि अभियान थाल्ने बताए ।

उनले भने धरानको सर्दु र खर्दु क्षेत्रमा मङ्सिरमा परेको सङ्लो पानी पोखरी बनाएर जम्मा गर्ने र चैत वैशाखमा धरानवासीलाई फिल्टर गरेर वितरण गर्ने गरी काम गर्ने आफ्नो योजना रहेको बताए । यसै गरी उनले सर्दुमा मिनी हाइड्रो पावर बनाएर बिजुली समेत आफै उत्पादन गर्ने सम्मको आफ्नो योजना रहेको बताए । यो निकै ठुलो योजना हुने भएकोले यसको अध्ययन, अनुसन्धान भइरहेको समेत बताए । 

धरानको सर्दु र खर्दु खोलामा हिउँदमा पनि पानी हुने तर भूमिगत भएर जाने भएकोले यसलाई कसरी जम्मा गर्न सकिन्छ यसबारेमा पनि अध्ययन गरी पानीको संरक्षण गर्ने योजना रहेको मेयर साम्पाङले बताए । सर्दु र खर्दुको खानेपानी मुहानमा अव व्यापक सुधार हुने उनले दाबी गरे ।