विराटनगर :  प्रदेश १ का प्रमुख परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन् । 

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको एघारौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखले सो कुरा बताएका हुन् । 

सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रूपान्तरण हुने प्रदेश प्रमुखको भनाई थियो । एघारौँ स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई नरेन्द्र इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार, बाबुराम भण्डारीलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार र उषा सरदारलाई मिना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका थिए । 

त्यसै गरी पुरस्कारका कोषकार दिनबन्धु गोयल, दीपक दाहाल, डा. सम्झना प्रधान र मिना श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

पुरस्कार तथा सम्मान लिँदै पत्रकार राजेन्द्र दाहालले आफूले तीस वर्षदेखि कुनै पनि पुरस्कार नलिएको तर पछिल्लो समय शिक्षक पत्रिका सहकारी माध्यमबाट चलाउँदै आएकाले सहकारिता पक्षलाई सम्मान गर्न उपस्थित भएको बताए ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ससाना पुँजीहरूलाई एकीकृत पारेर चलाइने सहकारीलाई राज्यले पनि प्रोत्साहन गरेको बताए । कार्यक्रममा जिल्ला सहकारी सङ्घ.लिई. मोरङका अध्यक्ष डिल्ली पोखरेल, पुरस्कारका संस्थापक मध्येका दिनबन्धु गोयल र सहकारीका अध्यक्ष मोहन भण्डारीले मन्तव्य राखेका थिए ।

Sancharkarma-2Sancharkarma-1