काठमाडौँ : विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटेल बनेको हो । यो होटेल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । 'वर्ल्ड बुक्स रेकर्डस्' लन्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटेलका रूपमा 'एभरेष्ट इन प्राइभेट लिमिटेड'ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार बेलुका राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटेलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई 'वर्ल्ड बुक्स रकर्डस्' को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटेलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरूका लागि नै खुसी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रूपमा होटेल रहने उनले विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि यो खालको होटलहरुले थप योगदान पुर्याउने विश्वास लिएको छु ।’ उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनर्स्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए । केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनर्स्थापित गर्ने एजेन्डाहरू घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले उक्त कार्यक्रममा उद्घोष थियो । ‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटेलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए । सन २००४ देखि होटेल सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए ।
उक्त स्थानमा होटेल बनाउनु एकदमै चुनौती रहे पनि निकै दुखका साथ होटेल बनाएको उनले स्मरण गरे । ‘त्यहाँ सेतोमा हिउँ र कालोमा ढुङ्गाबाहेक केही पनि देखिँदैन । त्यहाँ केही उब्जाउ पनि हुँदैन । निकै महँगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटेल बनाएको हुँ’ शेर्पाले भने, –‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुसी लागेको छ ।’उक्त कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पा,गायक निर्णय श्रेष्ठ,मिलन गुरुङ अजय अधिकारी सुशील,फोटोग्राफर हरि गोपाल प्रधान लगायत थुप्रैको उपस्थिति रहेको थियो।