सुनसरी : घरधनीको ज्यादतीले गर्दा इटहरीको लण्डन होटेल बन्द भएको छ । इटहरी-६ स्थित धरान लाइनमा लण्डन होटेल सञ्चालन गरिरहेका व्यवसायी पूर्ण राईलाई घरधनी मनबहादुर लिम्बुले आफै होटेल चलाउने भन्दै तत्काल घर छोड्न दबाब दिँदै होटेलमा ताल्चा लगाइ दिएका छन् ।
बुल्स एलभेन क्लब इटहरीका अध्यक्ष समेत रहेका राईले ६ महिना अघिसम्म साढे १८ लाख रुपैयाँ लगानी गरेका थिए । राईलाई घरधनी लिम्बुले एक्कासि होटेलको समान लिएर घर खाली गर्न दबाब दिएपछि राईले होटेलमा आफ्नो लगानी भएको रकम फिर्ता दिन या उक्त लगानी नउठुन्जेल होटेल सञ्चालन गर्न दिन आग्रह गरेका थिए । तर घरधनी लिम्बुले दुवै प्रस्ताव इन्कार गर्दै होटेलको ताला फुटाएर लिम्बुले अर्को ताला लगाई दिएका छन् । 
'समस्या समाधानका लागि वडा कार्यालय, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घमा छलफल भइरहेको थियो, छलफलबाट निकास ननिस्कुन्जेल सम्म आफूले बन्द गरेको होटेलको ताला फुटाएर घरधनी लिम्बुले दुई दिनअघि ताला लगाए छन्' राईले भने । घर खाली गर्न अग्रिम सूचना नदिई एक्कासि घर खाली गर्न दबाब दिएर व्यवसायीमाथि आतङ्क सिर्जना गरिएको छ । होटेलमा आफूले साढे १८ लाख रुपैयाँ लगानी गरिसकेको र त्यसको एक एक हिसाब आफूसँग सुरक्षित रहेको राईको दाबी छ ।
यता घरधनी लिम्बुले भने व्यवसायी राईसँग आफूहरूको कुनै लिखित सम्झौता नभएको दाबी गरेका छन् । होटेल सञ्चालन गरेका एक व्यक्तिले आर्थिक कठिनाइका कारण आइन्दा होटेल सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै घर भाडा लगायत अन्य महसुल होटेलको समान बेचेर असुल गर्न भन्दै निवेदन दिएको लिम्बुको भनाई छ । व्यवसायी राईले भने आफूसँग पार्टनरसिप गरेका एक व्यक्तिले घरधनीसँगको साँठगाँठमा किर्ते गरेर निवेदन दिएको हुन सक्ने बताएका छन् । अन्य बाँकी दुई जना लगानीकर्ता त्यसको प्रमाणको रूपमा रहेको दाबी गरेका छन् । 
होटेल सञ्चालक राई र घरधनी लिम्बु बिच उत्पन्न विवादको विषयमा केही दिनअघि इटहरी वडा नम्बर ६ को कार्यालयमा छलफल भएको थियो । उक्त छलफलमा सहभागी अधिकांशले अग्रिम सूचना नदिई घर खाली गर्न दबाब दिनु न्यायोचित नभएको बताएका थिए । दुई पटक छलफल गर्दा समेत घरधनीले राईको लगानी फिर्ता गर्न नसक्ने बताएको वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिए । 
राईको लगानी बापतको क्षतिपूर्ति दिन या लगानी उठाउनको लागि केही समय होटेल सञ्चालन गर्न दिन छलफलमा सहभागी अधिकांशले गरेको आग्रहलाई घरधनीले नमानेको होटेल व्यवसायी सङ्घ इटहरीका पूर्व अध्यक्ष अनुरोध थापाले बताए । इटहरीमा केही वर्षदेखि व्यवसायीमाथि घरधनीको आतङ्क बढेको र त्यसैको एक उदाहरण यो रहेको थापाको भनाई छ । 
होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीको ताला फुटाएर घरधनीले ताला लगाउनु कानुन विपरीत भएको र यसले समग्र व्यवसायीमाथि प्रहार गरेको बताएका छन् । आपसी समझदारी र छलफलको माध्यमबाट समस्या समाधान हुनुपर्नेमा घरधनीले चालेको कदम गलत भएको पराजुलीको भनाई छ। उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले निश्चित समय नदिई व्यवसायीलाई घर छाड्न दबाब दिनु गलत भएको बताए ।