धरान : पछिल्लो समय प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा धरानमा किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङबिच पहिचानको आधारमा नामकरण हुनुपर्ने विषयमा छलफल भएको छ ।

किरात राई यायोक्खाको सभा हलमा भएको छलफलमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्नेमा जोड दिइएको छ । किरात याक्थुङ चुम्लुङका संस्थापक सदस्य नरप्रसाद लुम्फङवा लिम्बुले पहिचान हराउने गरी प्रदेशको नामकरण हुनु नहुने भन्दै अहिले आएका प्रस्तावित नाम कोसी र सगरमाथा नभई पहिचानको आधारमा लिम्बुवान किरात हुनुपर्ने बताए ।

ऐतिहासिक तथा पहिचानलाई हेर्ने हो भने प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै यायोक्खा र चुम्लुङले साझा अवधारणा बनाएर अघि बढ्नुको विकल्प नभएको बताउदै लिम्बुले चाडै साझा अवधारणाका साथ दुई संस्था अघि बढ्नुपर्छ ।

यसै गरी अर्का सहभागी तीर्थ मादेम्बाले प्रदेश १ को नाम पहिचानको आधारमा राख्न माग गर्दै बृहत् जनप्रदर्शनमा सहभागी भएर दबाब दिनुपर्ने बताए । छलफलमा ताजुब लिम्बुले कोसी प्रदेश नाम राख्दा साम्प्रदायिक नहुने लिम्बुवान, किरात राख्दा साम्प्रदायिक हुने भन्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचानलाई सम्बोधन गर्ने नाम राख्नुपर्नेमा जोड दिए । चुम्लुङका केन्द्रीय सदस्य सङ्गीता सुब्बाले पनि अब प्रदेशको नामकरणका लागि चुम्लुङ र यायोक्खा एक भएर साझा मुद्दा लिएर अघि बढ्नुपर्ने बताइन ।

चुम्लुङ र यायोक्खा पहिलो पटक प्रदेशको नामका लागि छलफलमा बसेको बताउँदै किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले छलफल सकारात्मक भएको बताउँदै आज साँझ दुवै संस्थाका अध्यक्ष बिच छलफल भएपछि साझा अवधारणा बाहिर आउने बताए ।

अव किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले साझा अवधारणा बनाएर पहिचानको आधारमा नामकरण हुने गरी दबाबमा उत्रने बताइएको छ । आउँदो साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै बृहत् जनप्रदर्शन हुने भएकोले यो जनप्रदर्शनमा साझा अवधारणाका साथ कियाचु र किरायाले पनि सहभागिता जनाउने छलफलमा बताइएको छ । 

Prades-namakaran-chalphal-1