धरान : नेपाल बसोबास बस्ती संरक्षण समाजले धरानबाट देश र जनता बचाउ अभियान सुरु गरेको छ । 

बुधवार धरानको भानुचौकमा भिआइपीहरूको सेवा सुविधा खारेज गर, देश र जनतालाई माया गर भन्ने नाराका साथ मूल्य वृद्धि फिर्ता गर्नुपर्ने, राष्ट्रपति देखि प्रधानमन्त्री लगायत सबै भिभिआइपी भिआइपी हरूको अनावश्यक सेवासुबिधा खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो । 

समाजले साथमा साथ मिलाएर सँगै अघि बढौँ बेतिथिको अन्त्य गरौँ, देशलाई श्रीलङ्का हुन बाट बचाऔँ भन्दै समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले देशमा जनताले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएकोले अव यो देशका भिआइपी, भिभिआइपीहरूले पनि सरकारी सेवा सुविधा नलिई आम जनता जस्तै सार्वजनिक सवारी साधनमा चढेर कार्यालय जानुपर्ने बताए ।

भानुचौकको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले जति नै मूल्यवृद्धि भए पनि ठुला बडा भिआइपी, भिभिआइपीहरूलाई कुनै असर नपर्ने, जनताले तिरेको करबाट सरकारी सेवा सुविधाको उपभोग गर्ने भएकोले नेपाल बसोबास बस्ती संरक्षण समाजले धरानबाट 

देश र जनता बचाउ अभियान सुरु गरेको बताए । अव देखि दैनिक देशव्यापी समाजले प्रदर्शन गर्ने पनि अध्यक्ष कार्कीले जानकारी दिए । एक हप्ता सम्म प्रदर्शन गर्ने र त्यस पछि पनि समाजको मागको सम्बोधन भएन भने देशव्यापीरुपमा सरकारी सेतो नम्बर प्लेटका सवारी साधन सडकमा गुड्न नदिने रोक्ने सम्मको कार्यक्रम समाजले तय गरेको छ ।  

देशलाई श्रीलङ्का हुनबाट सचेत गराउन र बचाउनका लागि खबरदारी राज्य, सरकार र नेताहरूलाई खबरदारी गरिएको बताउँदै जनताको ढाड सेक्ने गरी भएको मृल्यबृद्धि तुरुन्त फिर्ता हुनुपर्ने माग गरिएको छ । बुधवार धरानको भानुचौकबाट सुरु भएको यो अभियान अव देशव्यापी हुने बताइएको छ ।