धरान : धरान-१७ स्थित फोल्याण्डमा रहेको दीपेन्द्र स्मृति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ ।
बुधवार केन्द्रले विद्यालयका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको केन्द्रकी अध्यक्ष रेणुका विश्वकर्माले जानकारी दिइन् । उनका अनुसार कक्षा ४ र ५ का ३० जनालाई प्रति विद्यार्थी ६ वटा कपि र बलपेन वितरण गरेको हो । केन्द्रका सल्लाहकार लालबहादुर विश्वकर्माले विद्यालयमा जेहेन्दार, अनुशासित र आर्थिक रूपमा विपन्न विद्यार्थीलाई अध्ययन गर्न केही राहत मिलोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको बताए । उनका अनुसार ५ जना विद्यार्थीलाई अङ्ग्रेजी ग्रामरको किताब प्रदान गरिएको हो । उनले विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुने भएकाले अध्ययन गर्न थप सहज होस भनेर ग्रामर प्रदान गरेको बताए । उनका अनुसार विद्यार्थी छनौट विद्यालयले नै गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा १ नं. प्रदेशका सांसद उमिता विश्वकर्माले समुदायस्तरबाट सञ्चालित विद्यालय उत्कृष्ट भएको बताइन् । उनले विद्यालयको शैक्षिक भौतिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना लावतीले विद्यालयमा सरकारको नजर नपरेको बताइन् । उनले विद्यालयको शैक्षिक, भौतिक विकासका ध्यानाकर्षण गराए पनि सहयोग नपाएको बताइन् । विद्यालयका प्रधानाध्यापक पर्वत सन्जेलले विद्यालयमा १ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनका अनुसार अहिले विद्यालयमा स्थायी दरबन्दी एउटा पनि कोटा नभएको बताए । उनका अनुसार विद्यालयमा ३ वटा दरबन्दीका लागि सरकारले अनुदान दिने गरेको तर विद्यालयमा निजी विद्यालयमा जतिकै गुणस्तरीय शिक्षाका लागि नर्सरीदेखि १ सम्म ४ वटा कक्षा सञ्चालनका लागि शिक्षकको अभाव रहेको बताए । उनले भने, ‘निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रयास गर्दैछौँ । तर राज्यले बन्द गर भन्छ ।’ उनले भने, 'शिक्षा नीति पनि नजिलाई प्रोत्साहन गर्ने किसिमको भयो ।'
शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रकी उपाध्यक्ष सावित्रा परियार, संस्थाका सदस्य ज्ञानबहादुर लामिछाने, प्रमेश विश्वकर्मा, एलिन विश्वकर्मा र संस्थाका संरक्षक सुभद्रा विश्वकर्माको उपस्थिति रहेको कोषाध्यक्ष शिवराम विश्वकर्माले जानकारी दिए ।
dharan-17-fockland-school-2