धरान : प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीले राजनीतिक दलहरूको दम्भले गर्दा हर्क साम्पाङ र बालेन शाहले राजनीतिक दलहरूलाई राम्रै सबक दिएको बताए । 

सुनसरी उद्योग वाणिज्य सङ्घको बिहीबारको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले व्यापारीलाई नाफाखोर देख्ने र व्यापारीले सरकारलाई घुस खोर देख्ने अवस्थाबाट जब सम्म मुक्ति हुँदैन तब सम्म न व्यवसाय चल्छ न देशको विकास हुने बताए ।

उनले उद्योगी व्यासायीहरुलाई तपाइहरू उद्योग व्यवसाय चलाउनुहुन्छ, उद्योग व्यवसाय तपाईँको होइन सरकारको हो । सरकारले कर लिन्छ, उद्योग व्यवसाय चलाए बापत । जुन दिन तपाईले कर तिर्नुहुन्न त्यो दिन उद्योग व्यवसाय बन्द हुने बताउँदै मन्त्री कार्कीले त्यसैले उद्योग व्यवसाय तपाइहरूले चलाए पनि सबै सरकारकै रहेछ नि भने ।

सरकारले पनि उद्योग व्यवसायलाई डुबे डुवोस भनेर कस्ने हो भने फेरि सरकार पनि चल्दैन । व्यापारी व्यवसायीले पनि हामी सरकारी हौ हाम्रो व्यापार व्यवसाय पनि सरकारी हो भनेर व्यवसाय गरेर सरकारलाई कर तिर्नुपर्ने र सरकारले पनि उद्योगी व्यावसायीहरुलाई  संरक्षण गरिनुपर्ने मन्त्री कार्कीले बताए । 

उद्योगी व्यावसायीहरुले इमानदार भएर सरकारलाई कर तिर्नुपर्ने र सरकारले पनि इमानदार भएर उद्योगी व्यवसायीलाई संरक्षण गरेर अघि बढ्नु पर्ने बताए । यदि सरकारले नियम अनुसार काम गरेन भने त्यसको खबरदारी गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले राजनीतिक दलहरूले पनि धावा बोलेर हामी चुनावमा देखाई दिन्छौ भन्नेलाई हर्क साम्पाङ र बालेन शाहले अलिकति भए पनि राम्रै सबक दिएको बताए ।

यसै गरी कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य सङ्घ बिचको सहकार्य, समन्वय विगतमा पनि थियो अव पनि रहने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, रामचन्द्र संघाई, अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाल र सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका पूर्व अध्यक्ष गिरीधारी सापकोटाले गरेका थिए ।  

गएको असार २० गते सम्पन्न भएको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट निर्वाचितहरुलाई पदस्थापना गराउनेक्रममा बिहीबार धरानका उद्योगी व्यवसायी मध्ये पुराना उद्योगी व्यवसायी गणेश अग्रवाललाई सम्मान गरिएको थियो । पदस्थापना कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुका साथै पदस्थापना गराएका थिए ।