-रश्मि प्रधान

धरान : एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको एसइई.स्पिकर २०७९, सिजन –२ को ग्रान्ड फिनाले बुधवार सम्पन्न भएको छ । 

र्‍याडिकल लाइट नेपाल प्रा.ली.धरानले धरान–१३ को वडा कार्यालय परिसरमा रहेको वडा बाल सञ्जालको हलमा सम्पन्न प्रतियोगितामा हिमालयन बोर्डिङ चतराकी एङ्लिसा थापा एसइई.स्पिकर २०७९ को विजेता भएकी छिन । एङ्लिसाले “सामाजिक सञ्जाल र युवा पुस्ता“ शीर्षकमा आफ्नो बिचार व्यक्त गरेकी  थिइन ।

विष्णु मेमोरियल बोर्डिङ धरानकी प्रतिष्ठा श्रेष्ठले “कृषि क्षेत्रको विकासमा युवाको भूमिका“ शीर्षकमा आफ्नो बिचार राखेर फस्ट रनर अप बनिन । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी सिसम गुरुङले “जङ्क फुडको प्रयोग न्यूनीकरणमा विद्यार्थीको भूमिका“ शीर्षकमा आफ्नो बिचार राखेर सेकेन्ड रनर अप बनिन । त्यस्तै भरोल बाल मन्दिर बोर्डिङका दिमन गिरिले सान्त्वना पुरस्कार हात पारे ।

दिमनले “महिला हिंसा न्यूनीकरणमा विद्यार्थीको भूमिका“ शीर्षकमा आफ्नो बिचार व्यक्त गरे । उत्कृष्ट १० जना सहभागीहरूले फरक फरक शीर्षकमा बोलेका थिए । सब टाइटल तर्फ वेस्ट पर्फमेन्सको उपाधि कोसी बोर्डिङ धरानका अबेक श्रेष्ठले हात पारे भने वेस्ट डिसिप्लिनको उपाधि जन सहयोग मा.बि.तरहराकी एल्जिना खातीले हात पारिन ।

त्यस्तै मस्ट सिन्सियरको उपाधि आदर्श मा.बि.चतराकी प्रज्ञा न्यौपानेले जितिन भने मस्ट पन्चुअलको उपाधि शिक्षा सन्दुस बोर्डिङ पानमाराका रज्निस न्यौपानेले जिते । यसै गरी मस्ट ट्यालेन्टको उपाधि–कोसी बोर्डिङकी एसीका कार्कीले हात पारिन भने मस्ट एक्टिभको उपाधि हिमालयन बोर्डिङ चतराकी रबिना तामाङले हात पारिन । विजेता, फस्ट रन् अप, सेकेन्ड रनर अप र  सान्त्वना हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बेघा, पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्र मोहन झा, यु.एन.कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका असई नारद प्रसाद दाहाल, जनता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता पोख्रेल, अमर बचत तथा ऋण सहकारी संस्था ली.का अध्यक्ष भूमि लिम्बु, ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठ, मिस स्टेट–१ सिजन–३ कि विजेता श्वेता भुजेल लगायतले पुरस्कार र प्रमाण–पत्र वितरण गरे ।

बिद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्देश्यले एस.ई.ई.स्पिकर कार्यक्रमको आयोजना गरेको प्रा.ली.का अध्यक्ष तीर्थ कार्कीले बताए । कार्यक्रममा पुर्वान्चल बागिना कला केन्द्रका अध्यक्ष एवम् गायक भक्तिराज राई, प्रा.ली.का प्रबन्धक हिमाल कार्की, कोसी पत्र दैनिकका डाइरेक्टर योगेसबाबु काफ्ले लगायतको उपस्थिति थियो । कार्यक्रममा जनता आधारभूत विद्यालयकी शिक्षिका ज्योति सुनुवारले गीत समेत प्रस्तुत गरिन । कार्यक्रमको सञ्चालन कोरियोग्राफर तथा सञ्चारकर्मी मेरिना तुम्साले गरेकी थिइन् ।

यसैबिच शिक्षा निकेतन मा.बि.का प्लस टु कोअर्डिनेटर आशिष् मास्केलाई  विगत लामो समय देखि बिद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि आयोजना गरिएका विभिन्न  कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण  योगदान पुर्‍याएको भन्दै  सम्मान गरिएको छ । र्‍याडिकल लाइट नेपाल प्रा.ली.ले मास्केलाई सम्मान गरेको हो । प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र विक्रम बेघाले खँदा र सम्मान पत्रले मास्केलाई सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उपमेयर अइन्द्र बेघाले भविष्यमा देशका विभिन्न क्षेत्रको नेतृत्व गर्न एसइई स्पिकर जस्ता  कार्यक्रमले अहिले देखि नै नेतृत्व विकास गर्नमा टेवा पुर्याउने बताए । आफू पनि सानो हुँदा यस्ता प्रतियोगितामा भाग लिएको स्मरण गर्दै बेघाले यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए ।