धरान : मोरङ कारागारका १६ जना कैदी बन्दीमा कोरोना सङ्क्रमण देखिएको छ । 

एक कैदीको गए राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए । मृत्यु हुनेमा मोरङको सुन्दर हरैचा ४ का ३९ वर्षीय निरबहादुर नेपाल रहेका छन् । उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कैद थिए । 

कैदीबन्दीहरुलाई अत्यधिक उच्च ज्वरो आएपछि कोसी अस्पतालमा उपचार गर्ने क्रममा एन्टिजेन परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको डिएसपी कार्कीले बताए ।

उनीहरूलाई कोसी अस्पतालको कोभिड अस्पतालमा राखेर उपचार सुरु गरिएको बताइएको छ । कारागारका सबै कैदी बन्दीको ज्वरो परीक्षण गरेर शङ्कास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको पनि उनले बताए । कारागारका कैदी बन्दीलाई कोभिडको दोस्रो भ्याक्सिन लगाइएको थियो । 

करिब तीन सय अट्ने क्षमताको मोरङ कारागारमा हिजो सम्ममा १ हजार ८७ जना कैदी बन्दी रहेका छन् ।