धरान : पछिल्लो समय धरानमा विभिन्न अभियानहरू हप्तै पिच्छे सञ्चालन हुँदै आएका छन् । ती अभियान मध्येको लागुऔषध मुक्त धरान बनाउने अभियान पनि एउटा अभियान हो ।

यो अभियान धरानमा हरेक साताको शुक्रवार सञ्चालन हुने गर्दछ । धरानका मेयर हर्क साम्पाङले यो अभियान चलाएको तेस्रो साता पुगेको छ । धरान लागुऔषध मुक्त बनाउने अभियानका साथ हरेक हप्ता धरानका विभिन्न चौक र स्थानहरूमा पुगेर मेयर साम्पाङ आफै सहभागी भएर लागुऔषध विरुद्धको पर्चा, पम्प्लेट सहित लागुऔषधको विरुद्धमा जनचेतना फैलाउने गर्दछन् । 

मेयर साम्पाङको यो अभियानमा धरानवासीले स्वतःस्फूर्त साथ दिएका छन् । अभियानको पहिलो दिन देखिनै उपमेयर आइन्द्रविक्रम बेघा भने सहभागी हुँदै आएका छन् भने अरू जनप्रतिनिधिहरूको सहभागिता भने देखिएको छैन । 

लागुऔषध विरुद्धको पहिलो अभियान धरानको मुख्य चौक भानुचौकबाट सुरु भएको थियो । दोस्रो साता धरानको छाताचौकमा अभियान भएको थियो भने तेस्रो साता धरान १३ को जीरोप्वाईन्टमा भएको हो । 

धरान १३ को जीरोप्वाईन्टमा भने अभियानले केही स्वरूप परिवर्तन गरेको छ । यस भन्दा अघिका अभियानहरूमा पर्चा पाम्प्लेट बोकेर उभिने मात्रै गरिँदै आएकोमा जीरोप्वाईन्टमा भने लागुऔषध विरुद्धका जनचेतनामूलक कविताहरू पनि गुन्जिएका थिए । 

धरान १३ का केही सङ्घ संस्था र आमा समूह सँगै १३ नम्बर वडावासीको सहभागिता रहेको यो अभियानमा मेयर साम्पाङले धरानमा हुने आपराधिक घटनाहरू लागुऔषध सँगै जोडिएको हुनाले लागुऔषध मुक्त धरान बनाउन यो अभियान थालिएको बताए । उनले भने– अबको अभियानहरू धरानका विभिन्न चौक र गल्ली अनि बस्तीहरूमा पुगेर सञ्चालन हुनेछन् । 

मेयर हर्क साम्पाङले धरानमा स्वतन्त्रबाट विजयी भएर मेयरको पदवहाली गरे देखि नै विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन् । यो क्रममा अहिले सम्म मेयर साम्पाङ धरानको खानेपानी समस्या समाधानका लागि अभियानलाई जारी राखेका छन् भने धरान ११ र १७ का बासिन्दालाई खानेपानी खुवाउनका लागि पकुवा खोलाबाट पानी ल्याउने अभियानको अन्तिम चरणमा पुगेको छ ।

त्यस पछि धरान नगरलाई सफा राख्नका लागि फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिरहेका छन् । मेयर साम्पाङको अर्को अभियान हरेक साता बृक्षरोपण कार्यक्रमको अभियान रहेको छ भने लागुऔषध नियन्त्रण र न्यूनीकरणका लागि से नो टु ड्रग्स अभियान हरेक हप्ता सञ्चालन भइरहेको छ । मेयर साम्पाङका यी विभिन्न सामाजिक अभियानले पनि पछिल्लो समय जनसमर्थन प्राप्त गर्दै जान थालेको छ । यी सबै अभियान मेयर साम्पाङले सामाजिक सञ्जालबाटै सूचना प्रवाह गरेर गर्दै आएका छन् ।