धरान : धरान-२० विष्णुपादुका जाने बाटोमा गएराति गोली चलेको छ । 

सर्दु खोलाको पुल देखि दुई घुम्ती माथि राति ८ बजे तिर धरान-२० भालुढुंगा बस्ने यहासु राई मोटरसाइकलमा घर जाँदै गर्दा अपरिचित व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी आएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्धमा पीडितले इलाका प्रहरी कार्यालय धरानमा जानकारी दिएका छन् । यसबारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ । 

यहासु राईको घर धरान-२० भालुढुंगा हो । उनी धरान उपमहानगरपालिकाको गरिबी निवारणको गणकको रुपमा कार्यरत छन् । उनी घर फर्किने क्रममा शुक्रवार रातको ८ बजेको थियो । सर्दु खोला पारिको दुई घुम्ती मास्तिर पुगेपछि सडक किनारामा एक जना मान्छे उभिएको देखे । नजिक पुग्दा ती व्यक्तिले आफूलाई पेस्तोल जस्तो देखिने बस्तुले निसाना लगाएर दुई हातले ताकेको देखे ।

उनले मोटरसाइकल जोडले चलाएर उनी भागे । भाग्ने क्रममा बन्दुक पड्केको ठुलो आवाज आयो । उनलाई लाग्यो, मलाई गोली लाग्यो । तै पनि उनले मोटरसाइकल तीव्र गतिमा चलाएर भाग्न सफल भए । भाग्नेक्रममा दायाँ खुट्टामा खुन बगेको जस्तो लाग्यो । उनलाई लाग्यो पक्कै मलाई गोली लाग्यो, खुन बग्दै छ ।

उनी भागेर भन्ज्याङमा रहेको प्रहरी चौकीमा पुगे र उनले घटनाको बारेमा जानकारी दिए । त्यति बेला मात्रै उनलाई थाहा भयो आफूलाई होइन मोटरसाइकलको पेट्रोलको टङ्कीमा गोली लागेर पेट्रोल चुहिएको रहेछ । घटनाको बारेमा टेलिफोनमा कुरा गर्दै उनले भने- 'भागेर बालबाल  ज्यान बचाए ।'

यो घटनाको बारेमा इलाका प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा कुनै सबुद प्रमाण भेटिएन। मोटरसाइकलको टङ्कीमा चोट लागेको छ । यसको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।