धरान : पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसारमा कहीँ नभएको सत्ता पक्ष भएभरका दलहरूलाई एक ठाउँमा उभ्याएर प्रमुख प्रतिपक्षीको विरुद्धमा घेराबन्दीको राजनीति गरिरहेको बताएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्बाङले प्रमुख प्रतिपक्षी भनेको राज्यको अभिन्न अङ्ग भएको बताउँदै गठबन्धन सरकारको यस्तो राजनीति संसारमा कहीँ नभएको बताए ।

नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि कुराको सल्लाह नगरीकन एउटा सिन्को पनि भाँच्न मिल्दैन । हामीले संसदीय प्रणालीलाई आफ्नो राज्यको प्रणालीको रुपमा अपनाएका छौ । त्यसैले नेकपा एमाले प्रमुख प्रतिपक्षी दल भएकोले गठबन्धन सरकारले यसबारेमा बुझ्नुपर्ने नेम्बाङले बताए । अहिलेको पाँच दलीय गठबन्धन दूषित गठबन्धन भएको बताउँदै नेम्बाङले प्रमुख प्रतिपक्षीलाई घेराबन्दी गरेर अगाडी बढेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दललाई घेराबन्दी गरेर नेकपा एमाले विरुद्धमा गठबन्धन भएको बताउँदै उनले नेकपा एमाले गठबन्धनको विरुद्धमा उभिनुपर्ने बताए । गठबन्धन सरकारले स्थानिय तहको चुनाव सार्ने तयारीमा रहेको बताउँदै उनीहरू पछिल्लो समय गठबन्धन गरेर एमाले विरुद्धमा लागेको बताए ।

गठबन्धनका बाबजुद पनि नेकपा एमालेले स्थानिय तहको निर्वाचनमा पहिलो लोकप्रिय मत प्राप्त गरेको दाबी गर्दै नेम्बाङले नेकपा एमालेले जहाँबाट जित्यो त्यो नेकपा एमालेको एक्लो मत हो, तर हारेको ठाउँमा अरू दलहरू मिलेर संयुक्त मत प्राप्त गरेकोले नेकपा एमालेको मत पहिलो लोकप्रिय मत भएको दाबी गरे । 

पूर्व सभामुख नेम्बाङले करिब डेढ घण्टा सम्बोधन गरेका थिए । उनको सम्बोधनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुणगान र गठबन्धनको विरोध मात्रै गरेर बिताएका थिए । नेकपा एमालेबाट पार्टी फुटाएर अर्को पार्टीमा गएका नेताहरूको बारेमा नाम बिर्से भन्दै कडा आलोचना गरेका थिए । 

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सभा हलमा भइरहेको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मेलनको अहिले बन्द सत्र चलिरहेको छ । बन्द सत्रले नयाँ समितिको चयन गर्ने बताइएको छ ।