धरान : नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं. १ को आयोजनामा धरानमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार 'हरियो वन, नेपालको धन' भन्ने मूल नाराका साथ नेविसंघले धरान वडा नं. १३ र २० को संगमस्थल बिपी पार्क क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण गरिएको हो । नेपाली काँग्रेस प्रदेश एकका महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा नेविसंघ सुनसरी क्षेत्र नं. १ ले बिपी पार्क क्षेत्रमा सरसफाइ गर्नुका साथै २ सय ५० वटा विभिन्न जातको बोट बिरुवा रोपिएको सभापति अजित लिम्बुले जानकारी दिए । 

सभापति लिम्बुले धरान उपमहानगरपालिकाले पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला नेविसंघले त्यसको इँटा थप्ने कार्य गरेको बताए । धरान उपमहानगरपालिकाको विभिन्न चौकहरूमा सवारी दुर्घटनाको जोखिम बढिरहेको बताउँदै उनले भने, ‘ती चौकहरूमा दुर्घटना न्यूनीकरण गर्नका लागि चाडै नै नेविसंघले जेब्रा क्रसिङ बनाउनेछ ।’ 
महामन्त्री थापाले नेविसंघ पार्टीको नेतृत्व उत्पादन गर्ने थलो मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिने सङ्गठन रहेको बताए । उनले नेविसंघमा आबद्ध विद्यार्थी नेताहरूलाई आफ्नो शैक्षिक जीवनलाई पनि निरन्तरता दिँदै राजनीतिक र सामाजिक कार्यमा चलायमान हुन जोड दिए । महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियू सचिव एवं नेविसंघ एकाइका सभापति दोर्चि शेर्पाले नेविसंघले विद्यार्थीहरूको हकहितको लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको सन्देश दिनका लागि सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव माधव घिसिङ, काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा क र ख का सभापतिद्वय अनिल श्रेष्ठ, मुरारी भट्टराई, नगर सभापति श्याम पोख्रेल, महाधिवेशन प्रतिनिधि एवं निवर्तमान मेयर तिलक राई लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
nsu-tree-plantation-2nsu-tree-plantation