झापा : दमक नगरपालिका वडा नम्बर १० का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण सुरु गरिएको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच दमक नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले वडा भित्र रहेका भूमिहीनहरूलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन । 
दमक वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरूलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफूहरू निर्वाचित भएर आए देखी नै पहिलो प्राथमिकतामा राखेर भूमिहीनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताए । 
निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब कहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराइने उनको भनाइ छ । त्यसै गरी नगर उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरू लागि परेको बताइन । भूमि आयोग झापा अध्यक्ष पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानबिन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष गगन पुरीले १० नम्बर वडामा चाँडै काम भएको तर अन्य वडामा किन आयोगको काम अघि नबढेको भन्दै प्रश्न गरेका थिए । त्यसै गरी काँग्रेस नेता सुरेश सुब्बा, राप्रपाका झापा जिल्ला उपाध्यक्ष बजय बराल, जसपा दमक अध्यक्ष खेम दाहाल, पूर्ववडा अध्यक्ष बोधराज न्यौपाने लगायतले पनि बोलेका थिए ।