धरान : हालसम्म घर भाडामा लिएर धरानमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जग्गा अभावमा आफ्नो निजी कार्यालय भवन निर्माण गर्न नसकेको र धरानमा जग्गा उपलब्ध हुन नसक्दा कार्यालय अन्यत्र सर्न सक्ने देखिएकाले धरानमा क्रियाशील राजनीतिक दलहरूले सामूहिक रूपमा जग्गा उपलब्ध गराउन पहल सुरु गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले संयुक्त पहल सुरु गरेका छन् । उनीहरूले यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे र जिल्ला ट्राफिक कार्यालय, सुनसरीका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतसँग भेट गरी पहल सुरु गरेका छन् । 
दलहरूको प्रतिनिधि मण्डलले ट्राफिक कार्यालय हाइवेमा हुँदा उत्तम हुने भएकाले धरानको तीनकुने स्थित बनको जग्गा दश कट्ठा उपलब्ध गराउन मन्त्री घिमिरेसमक्ष माग गरेका छन् । मन्त्री घिमिरेले पनि दलहरूको मागप्रति सहमत हुँदै यथाशक्य जिल्ला ट्राफिक कार्यालयको निवेदन, लाङघाली सामुदायिक वनको सहमति र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेस गर्न भनेका छन्। 
त्यसैगरी जिल्ला ट्राफिक कार्यालयले पनि दलहरूसँगको भेटपछि धरान उपमहानगरपालिकालाई वातावरणीय प्रभाव मूल्याङ्कनका लागि र लाङघाली सामुदायिक वनलाई सहमतिका लागि पत्राचार गरेको छ । दलहरूले पनि धरान उपमहानगरपालिका, लाङघालाी सामुदायिक वन र इलाका तथा जिल्ला वन कार्यालयसँग अविलम्ब समन्वय गर्ने जनाएका छन् । 
प्रतिनिधि मण्डलमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश १(१) का सभापति अनिल श्रेष्ठ र नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका नगर अध्यक्ष हर्कराज एभेङ र नगर उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवतीरमण राई रहेका थिए ।