धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको सहयोगमा धरान मेघा थ्री बाई थ्री विद्यालय स्तरिय खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही साउन ३ र ४ गते दुई दिने विद्यालय स्तरिय प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा कक्षा ५ देखि यसैवर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउनेछन् । प्रतियोगितामा धरान सँगै बिर्तामोड, उर्लाबारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालयको सहभागिता रहने आयोजक धरान बास्केटबल सङ्घले जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीले समेत नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

धरान बास्केटबल सङ्घको आयोजनामा भर्खरै मात्र ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प सम्पन्न भएको थियो । ट्यालेन्ट हन्टमा सहभागी एसइई दिएर बसेका प्रतिभावान् विद्यार्थी खेलाडीहरूलाई धरानको विभिन्न कलेजमा सङ्घले छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।

यो प्रतियोगिता वास्केटवल खेल विकास तथा खेलाडीको स्तर उन्नतिका लागि आयोजना गरिएको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिताको सहप्रायोजकको रूपमा सगरमाथा एसडि कलेज रहेको छ । प्रतियोगिता धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगिताको खेल तालिका साउन २ गते सहभागी टिमको प्रतिनिधिको उपस्थितिमा तयार गरिने आयोजकले जनाएको छ ।