धरान : परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको २० औँ संस्करण सम्पन्न गरेको छ । धरान-१५ स्थित श्याम चौक सेवा समाजको भवनमा आयोजित उक्त कार्यक्रम श्यामचौक युवा समूहको सहकार्यमा सम्पन्न भएको हो । 

विशेष गरी मुटु, मधुमेह र उच्च रक्तचाप सम्बन्धी परीक्षण गरिने उक्त क्लिनिकमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा जाँच गरिएको थियो । विशेष गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि आयोजित उक्त क्लिनिकमा ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको औपचारिक समुद्घाटनमा प्रमुख अतिथि रहेका धरान वडा नं. १५ का वडाध्यक्ष नरेशकुमार इवारामले २० औँ संस्करण सम्म निरन्तर कार्यक्रम आयोजना हुनु साधारण कार्य नभएको बताए ।

"धेरै संस्थाहरु दर्ता भएर थन्किएर बसेका हुन्छन्, तर परिवर्तनका लागि सामाजिक अभियानले दर्ता भएकै महिनादेखि सुरु गरेर हालसम्म निरन्तर २० औँ संस्करण सम्म कार्यक्रम आयोजना हुनु महत्त्वपूर्ण कुरो हो" इवारामले भने । 

अभियानले विगत ११ महिनादेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनमा केन्द्रित रहेर कार्यक्रम गर्दै आइरहेको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “हामीले २० औँ संस्करण सम्म यो कार्यक्रम आयोजना गरिसकेका छौँ, र हामीले शिक्षा र पर्यटनमा पनि कार्यक्रमहरू गर्दै आइरहेका छौँ” बरालले भने । 

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न उक्त क्लिनिकमा अभियानका अभियन्ताहरू मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल र निशान नेपालको सहभागिता रहेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निर्मला बास्ताले रक्तचाप परीक्षण गरेकी थिइन । सामाजिक स्वास्थ्य क्लिनिक स्थानीय जनताहरूको लागि निकै नै प्रभावकारी रहेको र अभियानले धेरै नै सराहनीय कार्य गरेको पत्रकार रणध्वज लोहारले बताए ।