धरान : धरानका उपमेयर आइन्द्र विक्रम बेघाले साउने सङ्क्रान्ति अर्थात् लिम्बु जातिको मौलिक पर्व सिसेक्पा तङ्नामको अवसरमा आइतबार ढ्याङ्ग्रो ठटाएर तङ्नाम मनाएका छन् । 

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको आयोजनामा धरान-१५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा लिम्बु जातिहरूले मौलिकरुपमा मनाउँदै आएको सिसेक्पा तङ्नामको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ढ्याङ्ग्रो, नाङ्लो लगायतका बस्तु बजाउँदै चुम्लुङ भवनको कोठा कोठामा पुगेर अनिकाल जा, सहकाल आइजा, भन्दै सांस्कृतिक विधिद्वारा लुतो फालिएको थियो । 

उपमेयर बेघालाई ढ्याङ्ग्रो ठटाउन चुम्लुङकर्मी ताजुब लिम्बुले सघाएका थिए भने नाङ्लो लिम्बु विद्यार्थी मञ्च सुनसरीका अध्यक्ष हरि इवाहाङले ठटाएका थिए । कार्यक्रममा सहभागी भइसकेपछि उपमेयर बेघाले भने– जीवनमा पहिलो पटक साउने सङ्क्रान्ति अर्थात् सिसेक्पा तङ्नाममा 'अनिकाल जा, सहकाल आइज' भन्दै ढ्याङ्ग्रो ठटाउँदै लुतो फाल्ने कार्यमा सरिक भएको बताए । सानोमा लुतो फाल्ने भनेर चाही सुनेको थिए । तर यसरी कहिल्यै गरेको थिइन् , नौलो अनुभव भएको बताउँदै मेयर बेघाले भने 'यस्तो मौलिक चाड पर्व र संस्कृतिहरूलाई पुस्तान्तरण गर्दै लैजानका साथै संरक्षण गर्नपर्छ ।' 

सिसेक्पा तङ्नामको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा चुम्लुङकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो भने मौलिक परिकारहरू खाएर एक अर्कामा शुभकामना समेत आदान प्रदान गरिएको थियो । 

सिसेक्पा तङ्नाम लिम्बुवानका गाउँघरमा साँझ परेपछि बन्दुक पड्काउँदै मिठो मसिनो खाएर एक अर्कामा रमाइलो गरेर मनाउने परम्परा रहेको छ । तर पछिल्लो समय यसरी मनाउने सिसेक्पा तङनाम कसरी मनाउने भन्ने बारेमा नयाँ पुस्ता बेखवर जस्तै भएका छन् ।