इटहरी : नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा सुनसरीका हेमराज दाहालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । सुनसरीलाई आधार बनाएर २० वर्षदेखि पत्रकारितामा सक्रिय दाहालले उपाध्यक्षको लागि तयारी थालेका हुन् । 
साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनमा उनले प्रदेशको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। हालसम्म प्रदेश १ बाट उनी सहित पाँचथरका लवदेव ढुङ्गानाले दाबी गरेका छन् । हाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष रहेका ढुङ्गाना र प्रेस युनियन केन्द्रीय सदस्य दाहाल टिममा पर्नको लागि लबिङ गरिरहेका छन् । माउन्टेन टेलिभिजनका ब्युरो चिफ समेत रहेका दाहालसँग यसअघि नेपाल टेलिभिजन, स्पेस टाइम्स दैनिक, अन्नपूर्ण, नागरिक लगायत पत्रिकामा काम गरिसकेको अनुभव छ। 
केन्द्रीय स्तरमा बलियो पकड बनाएका उनी नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय छन्। संस्थापन प्यानलबाट उम्मेदवारी दिने तयारीमा रहेका उनी सर्वसम्मत उपाध्यक्ष बन्ने तयारीमा छन् । 
संस्थागत सुदृढीकरण र पत्रकारको पेसागत सुरक्षाको लागि आफू उम्मेदवार बन्ने लागेको उनले बताए । पत्रकारको क्षमता विकाश गरी अध्ययन अनुसन्धानमा पत्रकारितालाई उपयोगी बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए ।
उता नेपाल प्रेस युनियन सुनसरी शाखाका अध्यक्ष पवन अधिकारीले दाहालको उम्मेदवारीमा पूर्ण समर्थन रहने बताएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने युनियनका उम्मेदवारलाई विजयी गराउनु आफूहरूको दायित्व भएको भन्दै उनले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।