धरान : धरानको पिण्डेश्वर बाबाधाममा आज बिहानै देखि बोलबंम भक्तजनहरूको ठुलो भिड लागेको छ । 

दुई वर्ष कोरोना महामारीले गर्दा नलागेको बोलबंम मेला यस पटक भब्यरुपले लगाउने पिण्डेश्वर बाबाधाम समितिले बताइरहँदा आज बिहानै हजारौँ भक्तजन जल चढाउन पिण्डेश्वर वावाधाम पुगेका छन् । 

विगतमा साउनको पहिलो सोमबार खासै भिड नहुने गरेको पिण्डेश्वर बाबाधाममा आज भने स्थानिय भक्तजन र टाढा टाढाबाट जल चढाउन आएका हजारौँ भक्तजन पिण्डेश्वर मन्दिरमा पुगेका छन् । एक्कासि ठुलो भिड लागेकोले भक्तजनलाई लाइन व्यवस्थापन गर्न समस्या देखिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणदर फेरि बढिरहेको बेला हजारौँ भक्तजन उपस्थित भएको पिण्डेश्वर बाबाधाममा अलिकति पनि स्वास्थ्य मापदण्ड अपनाइएको भने देखिँदैन । भक्तजनहरू मास्क विना उपस्थित भएर बाक्लो भिडमा उभिएका छन् । हिजो राति ११ बजे देखिनै भक्तजन आउन थालेको बताउँदै बिहान ३ बजे बाट भक्तजनको सङ्ख्या बढेको पिण्डेश्वर बाबाधाम परिसरमा डिउटीमा रहेका प्रहरी निरीक्षक देउकुमार लिम्बुले बताए । 

मन्दिरको उत्तर पट्टिको मुख्य प्रवेशद्वारमा तीन वटा लाइन रहेको छ भने मन्दिर प्रवेश गर्ने मुख्य द्वारमा लाइन गज्याङगुजुङ भएकोले मिलाउन हम्मे हम्मे भएको सेवक अभियानका राजीव हलवाईले बताए । 

विगत निकै लामो समय सम्म मन्दिर नखोलिनु र यस पटक साउनमा पिण्डेश्वरमा बोलबंम मेला लाग्नले गर्दा यस पटक भक्तजनको ठुलो घुइँचो लागेको धरान १४ निवासी डा. राजेन्द्र शर्मा बताउँछन् । पिण्डेश्वर बाबाधाममा सप्तकोसीबाट जल उठाएर ल्याई साउन महिनाको सोमबार जल चढाउनाले मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेकोले पछिल्लो समय सप्तकोेशी नदीबाट जल ल्याई खाली खुट्टा गेरु वस्त्र धारण गरेर पिण्डेश्वर मन्दिर सम्म पैदल आएर जल चढाउने भक्तजनहरूको सङ्ख्या बढ्दै गइरहेको छ । 

Bolbom-3Bolbom-5Bolbom-2Bolbom-4