धरान : पछिल्लो समय धरानमा नक्कली सुन दिएर ठगी गर्ने घटना वृद्धि भएको छ । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार अहिले सम्म सुन जस्तो देखिने नक्कली सुनको टिल दिएर सर्वसाधारणलाई ठगी गर्ने गरेको घटना धरानमा बढेको छ । ठगी गर्नेहरूले सोझो सिधा सर्वसाधारणलाई मलाई आपत् पर्‍यो, म सँग ठुलो सुन भएर कारोबार भएन ।

सानो सुन चाहियो । मेरो सुनको (टिल, बिस्कुट) छ राखिराख्नुस् । तपाईँको सानो गहना दिनुस् मेरो काम भएपछि तपाईँको सामान फिर्ता दिन्छु भन्दै प्रलोभनमा पारेर नक्कली सुनले सक्कली सुन लिएर फरार हुने गरेको घटनाहरू थुप्रै धरानमा घट्न थालेका छन् । 

अहिले सम्म इलाका प्रहरी कार्यालयमा आफू ठगिएको भन्दै केही निवेदनहरू परेका छन् । तर अहिले सम्म कोही पनि पक्राउ पर्न सकेका छैनन् । 

धरान १६ की सविता राईले २०७८ चैत १२ गते आफ्नो आमा ७२ वर्षीय लालमाया राईलाई भानुचौकको वरपीपल चौतारा नजिकै दुई जना छोरा मान्छेले पिछा गरेर तपाई त हाम्रो आमा जस्तै हुनुहुन्छ भन्दै गालामा सुमसुम्याएका थिए । गालामा सुमसुम्याउँदा उनी बेहोस जस्तै भएको र उनको गलामा लगाएको सुनको सिक्री टिल सहित १ थान, कानमा रहेको कुण्डल १ जोर गरी अन्दाजी साढे ४ तोला हालको मूल्य अनुसार ४ लाख ५० हजार बराबरको गहना फुकाली यो हामीसँग भएको सुनको टिल बोकी राख्नु केही समय पछि हामी आएर तपाईँको गहना फिर्ता दिन्छौ भनेर गएको र पछि फर्किएर नआएकोले खोजतलास गर्दा ती दुई जना फेला नपरेको भन्दै खोजी गरी पाउ भनी प्रहरीमा सविता राईले उजुरी दिएकी हुन् । 

यी त प्रतिनिधि घटना मात्रै हो । यस्तै घटना धरानमा पछिल्लो समय बाक्लै गरी घटन थालेको प्रहरीमा जानकारी आउन थालेकोले प्रहरीले सर्वसाधारणलाई सचेत र होसियार रहन आग्रह गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । 

हेर्दा सुन जस्तै देखिने पहेँलो बस्तु , जुन सुनको टिलमा उल्लेख गरिएको नम्बर नै उल्लेख भएको सुनको टिल जस्तै देखिने सुन दिएर सर्वसाधारणलाई सक्कली सुनसँग साटिरहेको र सस्तोमा बेच्ने गरेको जस्ता घटनाहरू घटिरहेका छन् । त्यसैले यस्ता गिरोह र समूह देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न पनि धरान प्रहरीले आग्रह गरेको छ ।  

Nakkali-Sun-1