धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको सहयोगमा आयोजित धरान मेघा थ्री वाई थ्री एसइई लेबल खुल्ला बास्केटबल प्रतियोगितामा होलिल्याण्ड स्कुल ए, कार्मेल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलार देखि सुरु भएको दुई दिने प्रतियोगितामा होलिल्याण्ड ए टिमले युएन स्कुललाई ८–३, कार्मेल स्कुलले सयपत्री स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड वि टिमलाई ८–० अङ्कको अन्तरले क्वाटर फाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । बुधवार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चिल्ड्रेन स्कुलले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल खेलमा कार्मेल र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलमा विजेता टिमले सोही दिन फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेता टिमले नगद पाँच हजार, दोस्रोले नगद २ हजार पाँच सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार र उदयीमान खेलाडीले नगद पाँच सय रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान १२ का वडा सदस्य तथा धरान उपमहानगरपालिकाका अर्थ तथा सामाजिक लेखा समिति संयोजक व्रम्हग्य भट्टराई र कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले संयुक्त रूपमा रेफ्रिलाई बल हस्तान्तरण गरी गरेका थिए ।

प्रदेश १ को बास्केटबल खेल विकासमा धरानको महत्त्वपूर्ण भूमिका रहेको बत्ताउँदै आफ्नो बडाबाट बास्केटबल खेल र खेलाडीको विकासका लागि नियमित रूपमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले मन्तव्यको क्रममा बताए । यसका साथै उनले धरान उपमहानगरपालिकामा समेत बास्केटबल खेल विकासको लागि सहयोगको पहल गर्ने जनाए । कार्यक्रममा धरान मेघा कलेजका प्राचार्य भास्कर पौडेलले सहभागी खेलाडी तथा उपस्थितहरूलाई स्वागत तथा शुभकामना दिएका थिए ।

धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान र धरान बाहिरका गरी १८ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक धरान मेघा कलेज रहेको छ भने सह प्रायोजकको रूपमा सगरमाथा एसडि कलेज रहेको छ । उद्घाटन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, सगरमाथा एसडि कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।