धरान : पछिल्लो समय कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागि रहेको बेलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले अहिलेको सङ्क्रमण ब्रेक थ्रु इन्फेक्सनको लहर भएको बताउँछन् । 

पछिल्लो समय ओमिक्रोन भेरिएन्टको उपप्रजाति बीए.५ भेरिएन्टलाई ‘अल्ट्राफास्ट भेरिएन्ट’ भन्न सकिने उनले बताए । डा. पुनले कपुरी न्युजसँग टेलिफोनमा कुरा गर्दै भने ‘हालको सङ्क्रमण अवस्था ‘ब्रेक थ्रु इन्फेक्सनको लहर’ जस्तै हो । तथ्यांकअनुसार ७० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

खोप लगाएकालाई पुनः सङ्क्रमण भइरहेको छ । जसलाई हामी ‘ब्रेक थ्रु केस वा इन्फेक्सन’ भन्छौँ,’ उनले भने । यो भेरिएन्ट छिटो फैलिए पनि तुलनात्मक रूपमा अस्पताल भर्ना र मृत्युको जोखिमको ग्राफ एकदम कम हुने उनको भनाइ छ । बुस्टर डोजले धेरै हदसम्म जोखिम काट्दो रहेछ भन्ने देखिएकाले थप जोखिम रोक्न बुस्टर लगाउन जरुरी रहेको उनले बताए ।

पछिल्लो समय सर्वसाधारणले पनि स्वास्थ्य मापदण्ड नअपनाई दिनाले पनि कोरोना सङ्क्रमण बढेको बताउँदै सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर फेरि पहिलेको जस्तै लकडाउन गर्ने वातावरण सिर्जन गर्न नहुने डा. पुनको तर्क रहेको छ ।

धरानमा कोरोना सङ्क्रमण बढेको बढ्यै, एकै दिन १० जनामा सङ्क्रमण

धरानमा साउन २ गते एकै दिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीको दैनिक प्रतिवेदनमा उल्लेख छ । 

तर धरानमा काहा र कुन ठाउँकोलाई कोरोना सङ्क्रमण भयो यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा समेत बेखबर हुने गरेको छ । यसो हुनुको कारण परीक्षण गरिएका रिपोर्ट महाशाखाले नपाउनुले हो । स्वास्थ्य महाशाखासँग समन्वय नहुनु र बीपीमा उपचारमा आउने सबैले पिसिआर परीक्षण गर्दा अन्तकै मानिस भए पनि धरान ठेगाना उल्लेख गर्नुले धरानमा सङ्क्रमित धेरै देखिएको हुन सक्ने महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

स्वास्थ्य कार्यालय सुनसरीको दैनिक विवरण अनुसार अहिले सम्म धरानमा २६ जना सक्रिय सङ्क्रमित रहेका छन् । दैनिक कोरोना सङ्क्रमण बढे पनि स्थानिय सरकारले भने धरानमा खासै चासो देखाएको पाइँदैन ।

कोरोनाको चौथो लहर हुन सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरिरहेको बेला धरान उपमहानगरपालिकाले पनि आइसोलेसनको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । तर यसो हुन नसक्नुले धरानमा कोरोना संक्रमणदर बढेमा भयावह अवस्था सिर्जना हुन सक्ने देखिन्छ । 

Covid-Report