धरान : श्रेया चस्मा घर धरानले चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क आँखा शिविर तथा चस्मा वितरण कार्यक्रम सम्पन्न गरेको छ । धरान–९ कलेज रोड स्थित चस्मा घरमा भएको शिविरमा ६७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको सञ्चालक सुनिल गुरागाईँले जानकारी दिए । 
उनका अनुसार चस्मा किनेर लगाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका ५ जनालाई निःशुल्क चस्मा समेत प्रदान गरिने छ । धरानको ९ नं. वडा कार्यालयले सिफारिस गरेका ५ जनालाई चस्मा दिइने सञ्चालक गुरागाईँले बताए । 
शिविरमा आएका अधिकांश ज्येष्ठ नागरिकमा मोतीयाविन्दुको समस्या देखिएको तथा अन्यमा आँखा पाक्ने (कन्जस्टिभाइटिस) रोग देखा परेको डा. जितनारायण यादवले जानकारी दिए । हिमाल आँखा अस्पताल विराटनगरका डाक्टर जितनारायण यादवले शिविरमा सेवा दिएका थिए । शिविरमा आएका एक बिरामीको आँखा भित्रबाट फलामको टुक्रा निकालिएको थियो । शिविरमा आँखा परीक्षण गराउनेहरूलाई निःशुल्क रूपमा औषधी समेत चस्मा घरले वितरण गरेको थियो । 
चौथो वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै कार्यवाहक वडाध्यक्ष शरदरत्न पार्थिवले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा चस्मा घरले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । सञ्चालक गुरागाईँले आगामी वर्षमा वडा नं. १२ मा समेत सेवा दिइने बताए । श्रेया चस्मा घरले विभिन्न समयमा निःशुल्क आँखा शिविर गर्दै आएको छ ।