धरान : धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको सहयोगमा आयोजित धरान मेघा थ्री वाई थ्री एसइई लेबल खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमीले जितेको छ ।

बुधवार भएको अत्यन्त्य प्रतिस्पर्धात्मक फाइनल खेलमा चिल्डे्रनले होलिल्याण्ड स्कुललाई १२–१० अङ्कको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । उपाधि सँगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोस्रो हुने होलिल्याण्ड स्कुलले नगद तिन हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । आयोजकले विजेतालाई नगद पाँच हजार र उपविजलतालाई दुई हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता तथा उपविजेता टिमलाई एक एक हजार रुपैयाँ थप गरिदिएका हुन ।

चिल्ड्रेन स्कुलका खेलाडी पारुहाङ् चोम्जोङ्गको उत्कृष्ट प्रदर्शनले चिल्ड्रेन स्कुल उपाधि माथि कब्जा जमाउन सफल भएका हुन । प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित चेम्जोङ्गले फाइनल खेलमा व्यक्तिगत ८ अङ्क जोडेका थिए । उनले उपाधि सहित नगद ६ हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी पुरस्कार आयोजकले एक हजार नगद घोषणा गरे पनि कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष समाजसेवी प्रभु श्रेष्ठले उत्कृष्ट खेलाडीलाई थप नगद पाँच हजार रुपैयाँ प्रदान गरेका थिए ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, कार्यक्रमका प्रमुख अतिथि धरान १८ का वडाध्यक्ष प्रवीण राई, सियोन स्कुलका अध्यक्ष खड्क थापा मगर, धरान मेघा कलेजका प्राचार्य भास्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

दुई दिने प्रतियोगिताको सेमिफाइनल खेल भने बुधवार नै फाइनल खेल अघि खेलाइएको थियो । सेमिफाइनल खेलमा चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ११–१ र होलिल्याण्ड स्कुलले कार्मेल स्कुललाई १२–७ अङ्कले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

५ कक्षा देखि यसै वर्ष एसइई दिएका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएको प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिता धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो ।   

Basketball 2