धरान : धरानमा बुधवार ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार मंगलबार र बुधवार पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको मध्येबाट ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

कोरोना सङ्क्रमण पुष्टि हुनेमा धरान १८ का ४८, १९ वर्षीय महिला र एक जना ३९ वर्षीय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डाक्टर पनि रहेका छन् । 

यसै गरी एक जना धरान १७ का ३६ वर्षीय पुरुष, र अर्को धरानकै वडानम्वर नखुलेको २३ वर्षीय महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

बुधवार ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धरानमा डेढ साताको अवधिमा ३१ जना सक्रिय सङ्क्रमित पुगेका छन् । अहिले सम्म कसैलाई पनि अस्पतालमा भर्ना गरिएको छैन भने सबै होम आइसोलेसनमै रहेको महाशाखा प्रमुख मेहेताले बताए । 

धरानमा पछिल्लो समय कोरोना संक्रमणदर बढिरहँदा धरान उपमहानगरपालिकाले भने खासै पूर्व तयारी र सङ्क्रमण भएकाहरू कसरी होम आइसोलेसनमा बसेका छन् ? आउँदो दिनमा थप सङ्क्रमित बढेमा कसरी व्यवस्थापन गर्नेबारेमा चासो जान सकेको छैन ।